काठमाडौं- नेपालबाट नर्सिङ केयर गिभरका रुपमा आज पहिलो नेपालीलाई जापान पठाइएको छ। नेपाल र जापान सरकारबीच भएको सम्झौता अनुसार नर्सिङ केयर गिभरका रुपमा बिनु गुरुङ आज जापान उडेकी हुन्।
नेपालबाट जापानका विभिन्न १४ क्षेत्रमा दक्ष कामदार भिसामा कामदार लैजाने गरी नेपालका तर्फबाट तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका निमित्त सचिव रामप्रसाद घिमिरे र नेपालका लागि जापानी राजदूत मासामिची साइगोबीच सहकार्यको समझदारी पत्रमा २०७५ चैत ११ गते हस्ताक्षर भएको थियो।
सोही समझदारी अनुसार नै जापानले नेपालबाट पहिलो चरणमा नर्सिङ केयर गिभर कामदार लैजाने उल्लेख भएअनुसार गुरुङ जापान गएकी हुन्। उनको गत मार्चमा नै भिसा अप्लाई गर्ने भनिएको भए पनि कोभिडका कारण भएको लकडाउन कारण रोकिएको थियो।
जापान जानुअघि उनले केयर गिभर र जापानिज भाषा उत्तीर्ण गरेकी थिइन्। जापानको विभिन्न कम्पनीमा कामदारका रुपमा काम लगाउने एक कम्पनी डगउट कम्युनिटीका प्रतिनिधि प्रकाश आचार्यले उनीसँगै १५ जना अन्य कामदारहरु नर्सिङ कामदारको रुपमा जापान जान लागि भिसाको प्रक्रियामा रहेको जानकारी दिए।
आचार्यले ६० जना व्यक्तिहरुले जापानिज भाषा उत्तीर्ण गरिसकेको र आफ्नो कम्पनीले ३२ जनालाई जापानका विभिन्न कम्पनीमा नियुक्ति दिलाइसकेको र तीमध्ये १५ जनाको भिसा अप्लाई गर्नका लागि पत्र आएको बताए।
जापानमा कामदार संकट निम्तिएसँगै जापान सरकारले विदेशी कामदार भित्र्याउने नीति अघि सारेको छ। जापानले ५ वर्ष भित्रमा नेपालसँगै चीन, इन्डोनेसिया, मंगोलिया, म्यानमार, थाइल्याण्ड, कम्बोडिया, भियतनाम, फिलिपिन्सबाट श्रमिक लैजाने जनाएको छ। यी मुलुकहरुबाट जापानले ३ लाख ४० हजार हाराहारीमा कामदार लैजाने भएको हो।