काठमाडौं- डा गोविन्द केसीले आफ्नो उपचार खर्च आफैंले व्यहोर्ने बताएका छन्। शनिबार प्रेस विज्ञप्ति जारी गर्दै उनले सरकारलाई आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गर्न भनेका छन्।
कोरोना संक्रमण भएर उपचार गराइरहेका डा केसीको उपचार खर्च सरकारले व्यहोर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्विटरमार्फत् सार्वजनिक गरेका थिए। डा केसीले त्यसप्रति विज्ञप्तिमार्फत् प्रतिक्रिया जनाएका हुन्।
'कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन्। त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नुभन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ', विज्ञप्तिमा उल्लेख छ।
यस्तो छ डा केसीको प्रेस विज्ञप्ति
म कोभिड -१९ बाट संक्रमित भएपछि प्रम केपी शर्मा ओलीले दिनुभएको स्वास्थलाभको शुभकामना सन्देशको लागि हार्दिक धन्यवाद दिन चाहन्छु। सरकारले मेरो उपचार खर्च बेहोर्छु भनेको सन्दर्भमा भने मेरो उपचार खर्च म आफैँ बेहोर्छु बरु सरकारले आफ्ना नागरिकप्रतिको कर्तव्य पूरा गरोस् ।
कोरोना संक्रमित विपन्न र दूरदराजका नागरिक जसलाई निःशुल्क उपचार आवश्यक छ उनीहरुले अहिलेसम्म उपचार पाउन सकेका छैनन् । त्यसो हुनाले अझै पनि सरकारको ध्यान व्यक्ति विशेषको उपचार खर्च बेहोर्नु भन्दा सबै विपन्न नागरिकको उपचार खर्च बेहोर्नेमा हुनुपर्दछ।
हामीसँग पटक पटक गरिएका सम्झौता कार्यन्वयन भएको भए देशका दूरदराजदेखि सबै भेगमा ठूला सरकारी अस्पताल, मेडिकल कलेज बन्ने थिए। साथै, त्यहाँका नागरिकले कोरोना साथसाथै सम्पूर्ण रोगहरुको गुणस्तरीय, निःशुल्क, सर्वसुलभ स्वास्थ सेवा पाउने थिए।
तसर्थ हामीसँग १९ औँ सत्याग्रहमा भएका सम्झौता यथाशीघ्र कार्यन्वयन गर्नुहुन अनुरोध गर्दछु। मेरो स्वास्थ्य लाभको कामना गर्नुभएकोमा फेरि पनि तपाईंलाई धन्यवाद दिन चाहन्छु।
डा गोविन्द केसी
२०७७/०७/२९
त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, महाराजगंज