काठमाडौं- भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा राजन पाण्डेले पदबाट राजीनामा दिएका छन्। डा पाण्डेले व्यक्तिगत कारण देखाउँदै पदबाट बुधबार राजीनामा दिएका हुन्।
अस्पतालको व्यवस्थापनमा मन नलागेका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ। उनले भने, ‘मेरो व्यक्तिगत कारणले नै मैले पदबाट राजीनामा दिएको हुँ। अस्पतालको व्यवस्थापनको पक्ष कस्तो हुन्छ हेरौं न त भनेर आएको थिएँ। तर अहिले मलाई मन लागेन।’
उनले बुधबार आफ्नो राजीनामा पत्र मन्त्रालयमा पठाएको जानकारी दिएका छन्। हाल भरतपुर अस्पतालको मेसुको निमित्तको जिम्मेवारी डा जगन्नाथ तिवारीलाई दिएको उनले बताए।
उनलाई स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भदौं २४ गते मन्त्रिस्तरीय निर्णय गर्दै भरतपुर अस्पतालको मेसुमा नियुक्त गरेका थिए।