काठमाडौं- वीर अस्पतालका आन्दोलित कर्मचारीले न्याम्सका पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका छन्। आफ्ना माग सम्बोधनका लागि कुनै पहल नगरेको भन्दै उनीहरुले बिहिबारदेखि न्याम्सका पदाधिकारीलाई प्रवेशमा रोक लगाएका हुन्।
नारा जुलुस सहित धर्नाको कार्यक्रमलाई यथावत राख्दै उनीहरुले आन्दोलनका कार्यक्रम थप गरेका छन्। मंसिर १२ गतेसम्म न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाइने नेपाल स्वास्थ्यकर्मी संघ वीर अस्पतालका अध्यक्ष खुबराज आचार्यले बताए।
उनले भने, ‘हामी आन्दोलनका कार्यक्रम ल्याउन बाध्य भयौं। त्यसैले आजदेखि न्याम्स पदाधिकारीलाई अस्पताल प्रवेशमा रोक लगाएका हौं।’
उनीहरुले अस्पतालको दुवै गेटमा पदाधिकारी प्रवेश निषेधको ब्यानर समेत टाँसेका छन्। अस्पतालमा दुई घण्टा पदाधिकारी र स्वास्थ्य तथा जनसंख्या मन्त्रालय विरुद्ध नाराबाजी गरिएको आचार्यले जानकारी दिए।
आफुहरुको माग सम्बोधन नभएर पदाधिकारीहरुको कार्यकक्षमा तालाबन्दी गरिने उनीहरुले बताएका छन्।
जोखिममा काम गरेवापत पाउनुपर्ने कोभिड भत्ता, कोभिड बिमा क्षतिपूर्ति, चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई भुक्तानी दिन बाँकी सेवा विस्तार भत्ता लगायत पाउनुपर्ने माग सहित वीर अस्पतालका कर्मचारीहरु कार्तिक ३ गतेदेखि आन्दोलनमा छन्।