काठमाडौं- बाँके जिल्लामा ६३ प्रतिशत कोरोना संक्रमित प्लाज्मा थेरापी उपचार विधिबाट निको भएका छन्। प्लाज्मा थेरापी गरिएका ३७ प्रतिशत संक्रमित बिरामीको भने मृत्यु भएको छ।
बाँके जिल्लाका जिल्ला कोभिड–१९ फोकल केन्द्रका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हालसम्म कोरोना संक्रमित भई उपचार भइरहेका नेपालगञ्जको भेरी अस्पताल र कोहलपुरस्थित कोहलपुर मेडिकल कलेजमा उपचाररत ४९ जना संक्रमितलाई प्लाज्मा थेरापी गरिएको थियो।
तीमध्ये भेरी अस्पतालमा ३८ मध्ये २४ र कोहलपुर मेडिकल कलेजमा ११ मध्ये ७ जना संक्रमित प्लाज्मा थेरापीबाट निको भएको श्रेष्ठले जानकारी दिए। बाँकेमा गत भदौ १५ गते सल्यानका २९ वर्षिय संक्रमित पुरुषलाई पहिलो पटक प्लाज्मा थेरापी गरिएको थियो।
हालसम्म बाँकेमा ५० जना कोरोना संक्रमित भई निको भएका व्यक्तिले प्लाज्मा दान गरेका छन्। बाँकेमा प्लाज्मा थेरापी गरिए पनि भेरीमा १४ र कोहलपुर मेडिकल कलेजमा ४ जना संक्रमितको भने मृत्यु भएको छ।
हालसम्म ३ हजार ६४६ संक्रमित भएका मध्ये बाँकेमा ३ हजार ४३०० जना संक्रमणमुक्त भएका छन्।
बाँके जिल्लाका कोभिड अस्पतालमा हालसम्म बाँकेका ३७ र बाहिरी जिल्लाका ४४ गरी ८१ जना संक्रमितको मृत्यु भएको छ।