विश्व स्वास्थ्य

इरानमा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य मापदण्ड कार्यान्वयनमा कडाइ

तेहरान- कोरोना संक्रमण दर वृद्धि हुँदै गएपछि इरानले संक्रमणको स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयनमा कडाइ गर्ने निर्णय गरेको छ। संक्रमण बढी भएका स्थानमा लकडाउन र अति प्रभावित स्थानमा कर्फ्यू लगाउने निर्णय इरानले गरेको हो।

कोभिड संक्रमितको संख्याका आधारमा शहर र क्षेत्रविशेषमा फरक फरक उपाय अवलम्बन गर्न सकिने निर्णय गरिएको इरानको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको भन्दै अलजजिराले समाचार प्रकाशन गरेको छ। 

जोखिम नभएको र संक्रमितको संख्या कम भएका क्षेत्रलाई नक्सामा सेतो रङले संकेत गरी मापदण्ड खुकुलो बनाउन सकिने र संक्रमण बढी फैलिएका स्थानलाई रातो रङले संकेत गरी सोहीअनुसार मापदण्ड कार्यान्वयन गराइने सरकारले जनाएको छ।

कम्तिमा पनि दुई सातासम्मका लागि जोखिमयुक्त क्षेत्रमा आंशिक सटडाउन गरिने मन्त्रालयले जनाएको छ। उक्त सटडाउनमा अत्यावश्यकबाहेकका सम्पूर्ण व्यापारहरू पूर्णरूपमा बन्द गर्नुका साथै सरकारी कार्यालयमा एक तिहाईमात्र कर्मचारी उपस्थित हुनुपर्ने बताइएको छ। 

हालसम्म इरानमा ४४ हजार ३२७ जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ। त्यस्तै ८ लाख ४१ हजार ३०८ जना संक्रमित रहेका छन्। शनिबार एकैदिन थप ४ सय ३१ संक्रमितको मृत्यु भएको छ भने १२ हजार ९ सय ३१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

प्राप्त प्रतिकृयाहरू

यसमा तपाइको मत

प्रतिकृया दिनुहोस

swasthyakhabar

पढ्नै पर्ने