काठमाडौं - त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम)का पूर्व डिन तथा त्रिवि शिक्षण अस्पतालका संस्थापक कार्यकारी निर्देशक प्राडा भीष्मराज प्रसाईंको निधन भएको छ।
डा प्रसाईंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज साँझ सात बजे निधन भएको हो। ८९ वर्षीय डा प्रसाईंको मुटुमा समस्या आएपछि कात्तिक २८ गते भर्ना गरिएको थियो।
प्राडा प्रसाईं चिकित्सा शास्त्र अध्ययन संस्थानका डीन, त्रिभुवन विश्वविद्यालयका शिक्षाध्यक्ष र उपकुलपति पनि भएका थिए। प्रसाईंका एक दर्जनजति साहित्यिक कृति प्रकाशित छन्।
राजपरिषदका सदस्यसमेत भएका उनले भानुभक्त पुरस्कार (नेपाल सरकार), त्रिमूर्ति पुरस्कार, महाकवि देवकोटा शताब्दी सम्मान, नइ देरूनीख सुकीर्तिलगायत पुरस्कार प्राप्त गरेका थिए।
डा प्रसाईंकी श्रीमती, दुई छोरी र एक छोरा छन्।
डा प्रसाई नेपालमा मेडिकल कलेज स्थापनाको परिकल्पनाकार तथा प्रवर्धक समेत हुन्। त्रिवि शिक्षण अस्पतालमा डा प्रसाईंको नाममा बगैँचा (भीष्म गार्डेन) समेत बनाइएको छ।