काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं साधारण सभाअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ। महासंघको चुनावका लागि तीन ठाउँमा मतदान केन्द्र तोकिएका छन्।
जिल्ला-नगर तर्फका लागि कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा, एसोसिएट तर्फका लागि कार्की ब्याङ्केट थापाथलीमा र वस्तुगत तर्फका लागि महासंघको केन्द्रीय कार्यालयमा मतदान भइरहेकाे छ। कोरोना संक्रमित मतदाताका लागि नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा मतदानको व्यवस्था मिलाइएको छ।
महासंघको नयाँ कार्यसमितिको चुनावमा चार जना स्वास्थ्य क्षेत्रका व्यवसायी पनि चुनावी मैदानमा छन्।
महासंघको निर्वाचनमा व्यवसायीहरु २ समूहमा विभाजन भएका छन्। एउटा समूहको नेतृत्व वरिष्ठ उपाध्यक्षका उम्मेदवार किशोर प्रधानले गरेका छन् भने अर्को समूहको नेतृत्व व्यवसायी चन्द्रप्रसाद ढकालले गरेका छन्।
ढकालको समुहबाट वस्तुगत तर्फ उपाध्यक्षमा अघिल्को कार्यकालमा पनि सोही समुहको उपाध्यक्ष रहेका औषधी उत्पादक संघका पुर्व अध्यक्ष उमेशलाल श्रेष्ठले पुन उम्मेदवारी दिएका छन्।
सोही समुहको वस्तुगत तर्फको कार्यसमिति सदस्यमा स्वास्थ्य सामाग्री आपूर्ति व्यवसायीहरुको छाता संगठन केमिकल एण्ड मेडिकल सर्जिकल सप्लायर्स एसोसियएसन अफ नेपाल (केमसान) को प्रतिनिधित्व गर्दै केमसानका पुर्व अध्यक्ष भक्त बहादुर हमालले उम्मेदवारी दिएका छन्। त्यसैगरी सोही समुहको एसोसिएट्स तफर्को कार्यसमिति सदस्यमा ओम अस्पतालका प्रबन्ध संचालक बाबुकाजी कार्कीले उम्मेदवारी दिएका छन्।
साधारणसभापछि स्वतः अध्यक्ष हुन लागेका हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, वर्तमान अध्यक्ष भवानी राणा र निर्वतमान अध्यक्ष पशुपति मुरारकाले प्रधान समूहलाई समर्थन गरेका छन्।
प्रधान समुहबाट वस्तुगत तर्फ कार्यसमिति सदस्यमा औषधि उत्पादक संघको प्रतिनिधित्व गर्दै निवर्तमान अध्यक्ष दीपक प्रसाद दाहालले उम्मेदवारी दिएका छन्।