काठमाडौं– रेजिडेन्ट एसोसिएसन अफ न्याम्स (र्यान) ले आवासीय चिकित्सकहरुलाई कोभिड भत्ता उपलब्ध गराउन माग गरेको छ।
एसोसिएसनले मंगलबार चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका डिनलाई ज्ञापनपत्र बुझाउँदै कोभिड जोखिम भत्ता उपलब्ध गराउनका लागि आवश्यक पहल गरिदिन अपिल गर्दै ज्ञापनपत्र बुझाएको छ।
कोभिड महामारीमा अग्रपंक्तिका स्वास्थ्यकर्मी तथा आवासीय चिकित्सकहरुलाई हालसम्म पनि कोभिड जोखिम भत्ता उपलब्ध नगराइएकोमा उनीहरुको आपत्ति छ। हालसम्म आफूहरुले मौखिक आश्वासन मात्र पाएकाले चिकित्सकहरु निरुत्साहित भएको विज्ञप्तिमा उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘जोखिम भत्ताका लागि आजका मितिसम्म पनि कुनै सकारात्मक कदम नचालिएको देख्दा कोभिडको विषम परिस्थितिमा सेवा सञ्चालनमा आवासीय चिकित्सकहरुको अहं भूमिकाको कदर नभएको महसुस गरेको छ।’
मागको समयमै सम्बोधन नभए जस्तोेसुकै आन्दोलनका कार्यक्रमका ल्याउन बाध्य हुने रानले चेतावनी दिएको छ।