न्यूयोर्क- कोरोनाविरुद्धको भ्याक्सिनमा सर्वसाधारणको विश्वास बढाउन पूर्वअमेरिकी राष्ट्रपतिहरू बिल क्लिन्टन, बाराक ओबामा र जर्ज डब्ल्यु बुसले सार्वजनिक रुपमा नै भ्याक्सिन लगाउने भएका छन्। तीजना पूर्वअमेरिकी राष्ट्रपतिहरुले अमेरिकाको खाद्य तथा औषधि प्रशासनबाट स्वीकृति प्राप्त भएपछि सर्वधारणहरुको हिचकिचाहट कम गर्न आफैँले भ्याक्सिन लिने घोषणा गरेका हुन्।
अमेरिकामा फाइजरको भ्याक्सिनले डिसेम्बर १० मा स्वीकृति पाउने अपेक्षा गरिएको छ भने त्यसको केही दिनमा नै भ्याक्सिन वितरण सुरु गरिनेछ। ओबामाले भ्याक्सिन लिएको भिडियोसमेत टेलिभिजनबाट प्रशारण गरिने भएको छ। आफूले विज्ञानलाई विश्वास गर्ने ओबामाले बताएका छन्।
त्यस्तै पूर्वअमेरिकी राष्ट्रपति जर्ज डब्ल्यु बुसले पनि अमेरिकाका वरिष्ठ सरुवा रोग विशेषज्ञ एन्थोनी फाउचीलाई सम्पर्क गरेर सार्वजनिक रुपमा भिडियो नै खिच्नेगरी कोरोनाविरुद्ध भ्याक्सिन लिने बताएका छन्। भ्याक्सिन सुरक्षित भएको प्रमाणित भएर एफडिएले स्वीकृति दिएपछि आफूले लिने उनको भनाइ छ।
त्यस्तै पूर्वअमेरिकी राष्ट्रपति बिल क्लिन्टनका प्रेस सेक्रेटरीले पनि भ्याक्सिन उपलब्ध हुनासाथ क्लिन्टनले लिने जानकारी दिएका छन्। सबै अमेरिकी नागरिकलाई भ्याक्सिन लिनका लागि प्रोत्साहन गर्न क्लिन्टन पनि सार्वजनिक रुपमा नै भ्याक्सिन लिन तयार भएका हुन्।