काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालले नौ महिनाको अवधिमा करिब ११ सय कोरोना संक्रमितको उपचार गरेको छ। जसमध्ये १ सय ३० जना संक्रमितको मृत्यु भएको अस्पतालले जनाएको छ।
हाल ४० जना कोरोना संक्रमित उपचाररत रहेको अस्पतालका कोभिड व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दासले बताए। कोरोना संक्रमितको उपचारका लागि आइसियु र भेन्टिलेटर सहित १ सय ६६ शय्याको व्यवस्था गरेको छ।
हाल अस्पतालमा भर्ना हुने कोरोना संक्रमितको चाप घट्दै गएको डा दासले बताए। यद्यपि गम्भीर खालको संक्रमितको संख्या भने घट्न नसकेको उनले जानकारी दिए। पहिले दैनिक १ सय ३० जनासम्म संक्रमित भर्ना हुने गरेको उनले बताए।
उनले भने, ‘अहिले अस्पताल भर्ना हुने कोरोना संक्रमितको संख्या घट्दो छ। तर मध्यम र गम्भीर खालका समस्या भएरहरु घट्न सकेको छैन।’
अस्पताल भर्ना हुने अधिकांश संक्रमितहरु अक्सिजनको कमी भएर र गाह्रो भएर मात्र आउने गरेको उनले बताए। अन्तिम अवस्थामा मात्र संक्रमित अस्पताल आउँदा मृत्युदर बढीरहेको उनले बताए।
‘अहिले धेरैजसो संक्रमितहरु एकदम गाह्रो एकपछि मात्र अस्पताल आउँछन्। त्यसैले पनि मृत्युदर बढीरहेको छ।’ उनले भने।
श्वासप्रश्वासमा समस्या भए, लगातार ज्वरो आए र अक्सिजनको मात्रा ९२ भन्दा कम भए तत्काल अस्पताल जान डा दासको सुझाव छ।
कोरोना संक्रमितको उपचारका लागि त्रिवि शिक्षण अस्पतालले चैत ११ गतेदेखि तयारी सुरु गरेको थियो। जेठ २९ गते पहिलो संक्रमित भर्ना भएको अस्पतालले जनाएको छ। त्रिवि शिक्षण अस्पतालमा हालसम्म चिकित्सक, नर्स सहित करिब ५ सय स्वास्थ्यकर्मी संक्रमित भएका छन्।