काठमाडौं– त्रिवि शिक्षण अस्पतालको प्याथोलोजी ल्याबले पुरानो बिग्रिएको इलेक्ट्रोन माइक्रोस्कोप म्युजियममा राख्ने भएको छ।
ल्याबले ३० वर्ष पुरानो बिग्रिएको इलेक्ट्रोन माइक्रोस्कोप आइओएम म्युजिएममा राख्न लागेको त्रिवि चिकित्सा शास्त्रका प्याथोलोजी ल्याबका प्रमुख प्राडा अभिमन्यु झाले जानकारी दिए।
झाका अनुसार उक्त माइक्रोस्कोप ३० वर्ष अगाडि आइओएमका पूर्व डिन तथा पूर्व प्याथोलोजी विभागका प्रमुख प्राडा हरिगोविन्द्र श्रेष्ठले जापानबाट सहयोग स्वरुप ल्याएका थिए।
क्यान्सर पहिचान गर्ने उक्त माइक्रोस्कोप कहिल्यै पनि उपचारमा प्रयोगमा नआएको झाले बताए। स्नातकोत्तर पिजीका विद्यार्थीको प्रयोगात्मक–परीक्षामा ५ वर्षसम्म प्रयोगमा आएको उक्त माइक्रोस्कोप २० वर्षदेखि बिग्रिएको अवस्थामा रहेको झा बताउँछन्।
‘बिग्रिएको माइक्रोस्कोपलाई त्यही समयमा जापानबाट प्रतिनिधि आएर बनाउने कोसिस गरेका थिए तर त्यसका पाटपूर्जा नपाएर बनाउन सकेनन्। माइक्रोस्कोप यत्तिकै थन्किएको थियो,’ उनले भने।
अलिहे उक्त माइक्रोस्कोप राखेको ठाउँको आवश्यकता परेकोले म्युजियममा राख्न लागेको झाले जानकारी दिए।