काठमाडौं– वीरगञ्जस्थित नारायणी अस्पतालको अस्थायी कोभिड अस्पतालमा काम गरेका १३ जना स्वास्थ्यकर्मीले अहिलेसम्म तलब–भत्ता पाएका छैनन्।
अस्पतालले करारमा नियुक्ति दिई काम लगाएका स्वास्थ्यकर्मीलाई काम गरेको प्रमाण नभएको भन्दै तलब–भत्ता नदिएको गुनासो उनीहरुले गरेका छन्।
अस्पतालले नारायणी अस्पतालमा संक्रमितको संख्या बढेपछि गण्डक अस्थायी कोभिड अस्पताल सञ्चालनमा ल्याएको थियो। उक्त अस्पताल सञ्चालनमा ल्याइएपछि चिकित्सक सहित १३ जना स्वास्थ्यकर्मीलाई करारमा राखिएको थियो। साउनदेखि असोजसम्म काम गरेका ती स्वास्थ्यकर्मीले अहिलेसम्म कुनै तलब–भक्ता नपाएको गुनासो गरेका छन्।
७७ दिन काम गरेका एचए निखिलकुमार झाले काम सकिएपछि तलबका अस्पतालमा कुरा गर्न जाँदा काम गरेको प्रमाण के छ? भनेर अस्पताल पन्छिन खोजेको बताए।
उनले भने, ‘हामी घरमा बसेका मानिसलाई बोलाएर काममा लगाइयो। हामीले जोखिमको समयमा पनि गुनासो नगरी काम ग¥यौँ। अहिले काम गरेको प्रमाण के छ तलब दिनलाई भन्छन्। पहिला दसैँ त्यसपछि तिहार अनि छठमा पैसा आउँछ भने, अहिले प्रमाण खोई भन्छन्।’
उनले नारायणी अस्पतालका कोभिड फोकल पर्सन डा उदय सिंहले फोन गरेर अस्थायी अस्पतालमा कामका लागि बोलाएको बताए।
‘हामीलाई तलब वीरगञ्ज महानगरपालिकाबाट र भत्ता नारायणी अस्पतालबाट पाइन्छ भनिएको थियो। तर अहिलेसम्म तलब–भत्ता केही पाएका छैनौँ,’ उनले भने।
स्वास्थ्यकर्मीले आवश्यक सबै कागजात डा उदयसिंह ठाकुरलाई बुझाएका छन्। गुनासो लिएर नारायणी अस्पतालका प्रमुख डा सञ्जीव ठाकुरलाई समेत भेटेको तर उनले गुनासो सुन्नुको साटो अश्लिल शब्द बोल्दै खराब व्यवहार देखाएको दुखेसो गरेका छन्।
‘अस्पतालका निर्देशकले मैले तिमीहरुलाई राखेको हो र पैसा दिने? भन्दै अश्लिल शब्द बोल्नुभयो। पहिले मेसु मदन उपाध्याय हुनुहुन्थ्यो। उहाँको सरुवा भएपछि डा ठाकुर आउनुभएको हो। तर उहाँको व्यवहारले झन् हिनताबोध गरायो,’ एचए झाले भने।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबै फ्रन्टलाइनरहरु तलब–भत्ता दिने दावी गरेपछि पटकपटक यस्ता गुनासा आउँदा सम्बोधन गर्ने गरेको छैन।
नारायणी अस्पतालका तत्कालीन कोभिड फोकल पर्सन हाल नारायणी अस्पतालका इमर्जेन्सी प्रमुख डा उदय सिंह ठाकुरले अस्थायी अस्पतालको आर्थिक खर्च महानगरपालिकाले व्यहोर्ने र व्यवस्थापकीय विषय नारायणी अस्पतालले हेर्ने सम्झौता भएको बताए।
उनले भने, ‘उक्त सम्झौतामा ५० प्रतिशत कर्मचारी नारायणी अस्पतालकै राख्ने, ५० प्रतिशत बाहिरका निजी अस्पतालका कर्मचारी राख्ने निर्णय भएको थियो। सो क्रममा अपुग १२ कर्मचारी बाहिरबाट लिइएको हो। सो अनुसार महानगरपालिकालाई पत्राचार पनि गरेको छाँै।’
महानगरपालिकाले सोअनुसार बोर्डमा तलब दिने विषय पास भइसकेको उनले बताए। तर कर्मचारी महानगरपालिका तलबका लागि जाँदा नारायणीले व्यवस्थापन गरेकोले उसैले दिनुपर्ने तर्क गरेको उनको भनाइ छ।
उनले भने, ‘अहिले अस्पतालले महानगर देखाउने, महानगरले अस्पतालले दिन्छ भन्ने गरेकोले कर्मचारी मारमा परेका छन्। मैले आज पनि महानगरको स्वास्थ्य संयोजकसँग कुरा गरेको छु। उहाँले अस्पतालले दिनुपर्ने हो तर महानगरपालिकाले दिने कुरा बोर्डबाट पास भइसकेको छ तर प्रमुख नभएर निर्णय नभएर रोकिएको बताउनुभएको छ।’
उनले अनुसार मेयर र प्रमुख प्रशासकीय अधिकृत आउने बित्तिकै तलब–भत्ता पाउने जानकारी पाएको बताए।