काठमाडौं - कोरोना संक्रमणबाट मृत्यु हुने संक्रमितको संख्या बागमती प्रदेशमा सबैभन्दा धेरै छ। बागमती प्रदेशमा मात्र ८ सय ५० कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।
निको हुने र सक्रिय संक्रमितको संख्या पनि बागमती प्रदेशमा सबैभन्दा धेरै छ। यहाँ हालसम्म १ लाख २६ हजार ५ सय ८८ जना संक्रमित उपचारपछि निको भएका छन्। अझै पनि ७ हजार २ जना संक्रमित उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
बागमतीपछि सबैभन्दा धेरै संक्रमितको मृत्यु हुने सूचीमा लुम्बिनी प्रदेश दोस्रो नम्बरमा छ। लुम्बिनी प्रदेशमा हालसम्म २ सय १७ जना संक्रमितको मृत्यु भएको छ। २५ हजार ४ सय ८९ जना उपचारपछि निको भएका छन् भने १ हजार ५ सय ५४ जना उपचाररत छन्।
यस्तै, प्रदेश १ मा हालसम्म २ सय ३ जना संक्रमितको मृत्यु भएको छ। १ हजार १ सय ८७ जना उपचाररत छन्। २७ हजार ३ सय ६३ जना निको भएका छन्।
प्रदेश २ मा २ सय ४ जना संक्रमितको मृत्यु हुँदा २० हजार ६० जना उपचारपछि डिस्चार्ज भएका छन्। हाल १ सय ५८ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।
गण्डकी प्रदेशमा कोरोना संक्रमित मृतकको संख्या १ सय १९ पुगेको छ। १४ हजार २ सय १६ जना संक्रमित डिस्चार्ज हुँदा १ हजाार ३ सय १८ जना उपचाररत छन्।
सबैभन्दा थोरै संक्रमितको मृत्यु हुने प्रदेशमा कर्णाली प्रदेश पर्दछ। कर्णाली प्रदेशमा हालसम्म २४ जना संक्रमितको मात्र मृत्यु भएको छ। ६ हजार ५४ जना उपचारपछि निको भएका छन् भने १ सय १० जना सक्रिय संक्रमित छन्।
सुदूरपश्चिम प्रदेशमा ४६ जना संक्रमितको मृत्यु हुँदा ११ हजार ८ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन्। हाल १ हजार ५७ जना उपचाररत रहेको मन्त्रालयले जनाएको छ।