काठमाडौं - हेल्थ असिस्टेन्ट संघ नेपाल (हान) ले आफ्ना मागहरु सुनुवाई नभएको भन्दै आन्दोलनको तयारी थालेको छ।
आफ्ना माग प्रति स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कुनै सुनुवाई नगरेको भन्दै हानले आन्दोलनको तयारी थालेको हो।
शुक्रबार स्वास्थ्य कार्यालय काठमाडौंमा भएको उपत्यका स्तरीय अगुवा स्वास्थ्यकर्मीहरुको भेलाले माग सम्बोधन नभए देशव्यापी आन्दोलन गर्ने निर्णय गरेको हानका अध्यक्ष दाताराम अधिकारीले बताए।
कोरोना महामारीमा खटिएका स्वास्थ्यकर्मीहरुलाई सरकारले बेवास्ता गरेको उनको भनाई छ। आन्दोलनका लागि आम नागरिकलाई समेत अपिल गर्ने हानको तयारी छ। कोरोना नियन्त्रण लगायत स्वास्थ्य सेवा प्रवाहमा स्वास्थ्य मन्त्रालय चुकेको भन्दै स्वास्थ्यकर्मीहरुले आपत्ति जनाएका छन्।
यसअघि स्वास्थ्य क्षेत्रका २३ वटा पेशागत संघ संगठनले १८ बुँदे माग राख्दै स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराएका थिए। मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै उनीहरुले २१ दिनको अल्टिमेटम दिएका थिए। उक्त २१ दिनको अल्टिमेटम २८ गते सकिदैछ।
कोभिड लगायत जनताको अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।