काठमाडौं - ‘कतै मबाट बिरामीलाई वा बिरामीबाट मलाई कोरोना भाइरस सर्ने त होइन ?’
यो डरले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका फार्मेसी विभाग प्रमुख अनिश श्रेष्ठलाई सधैँ झस्काई रहन्छ। यो डर त्यति बेलादेखिको हो, जुन बेलादेखि नेपालमा कोरोना संक्रमितहरु देखिन थाले।
नझस्काओस् पनि किन ? कोरोना संक्रमणको उच्च जोखिममा हुन्छन्, रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, डायलाइसिस गराइरहेका र मिर्गौला सम्बन्धी रोग भएका बिरामीहरु।
उक्त अस्पतालमा मिर्गौलासँग सम्बन्धित समस्या लिएर दैनिक सयौं बिरामीहरु पुग्छन्। त्यसैले श्रेष्ठको डरलाई स्वाभाविक मान्न सकिन्छ।
फार्मेसी विभाग प्रमुखका रुपमा कार्यरत उनी कामको व्यवस्थापन र सहजताका लागि नियमित रुपमा कयौं मानिस र बिरामीसँग आम्ने–साम्ने हुनुपर्छ। किनकी औषधि लिने र दिने कुरामा धेरै दूरी कायम गर्न सम्भव छैन।
उनी भन्छन्, ‘यहाँ रोगसँग लड्ने क्षमता कम भएका, डायलाइसिस गर्ने र गराइरहेका अनि मिर्गौला सम्बन्धी रोगका बिरामी धेरै आउँछन्। यो क्रममा मबाट उनीहरुलाई वा उनीहरुबाट मलाई कोरोना सर्ने त होइन भन्ने डर सधैँ मनमा हुन्छ।’
उनी आफैं फार्मासिस्ट भएकाले बिरामीसँग उनको प्रत्यक्ष सम्पर्क हुने गर्छ। नेपाल सहित विश्वमा जब कोरोना भाइरस तिव्र गतिमा फैलिदै गयो, त्यसपछि उनको मनमा पनि डर बढ्दै गयो।
तर बिरामीको सेवा गर्ने चाहनाले उनले आफ्नो डरसँग जिते। उनी निरन्तर रुपमा काममा खटिरहे। ‘जब नेपालमा कोरोना बढ्दै गयो। त्यसपछि हामी पनि अछुतो रहन सकिदैन कि जस्तो लाग्न थाल्यो। तरपनि हामी दिनरात काममा खट्यौं, ’ उनले भने।
कोरोना पोजेटिभ देखिएपछिको डर
करिब एक महिना अघिको कुरा हो। अस्पतालकै एक फार्मासिस्टलाई कोरोना पुष्टि भयो। आफ्नै सहकर्मी संक्रमित भएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परे।
उनको पिसिआर परीक्षण भयो। जब उनको हातमा पिसिआर रिपोर्ट आयो, उनलाई विश्वास गर्न नै गाह्रो भयो। एकछिन त उनी अत्तालिए पनि। किनकी जे कुराको उनलाई डर थियो, त्यही अब भोग्नु परेको थियो।
आफू संक्रमित भएको कुरामा उनलाई विश्वास नै लागेन। त्यसैले उनले दोस्रो पटक पनि पिसिआर परीक्षण गराए। तर यसपटक पनि उनको रिपोर्ट पोजेटिभ नै आयो।
‘अत्तालिएको जस्तो भएँ। साँच्चै मलाई कोरोना संक्रमण भएछ ? भन्ने भयो’, उनी आफैँलाई प्रश्न गर्छन्, ‘विश्वास नै नलागेर मैले दोस्रो पटक पनि पिसिआर गराएँ।’
मास्क लगाउने, सेनिटाइजरको प्रयोग गर्ने र सामाजिक दूरी कायम गर्ने। कोरोनाबाट बच्ने यी तीन वटा मन्त्रलाई उनले आत्मसाथ नगरेका होइनन्। सावधानी अपनाउँदा अपनाउँदै पनि उनी कोरोनाबाट बच्न सकेनन्।
तर कोरोना संक्रमित भएपछि आत्मबलमा भने कमी आउने गरेको श्रेष्ठको अनुभव छ।
उनी भन्छन्, ‘पहिलो पटक जब विश्वास नलागेर दोस्रो पटक पिसिआर गराएँ। दोस्रो पटक पनि पोजेटिभ आउँदा जति बलियो हुन्छु भनेपनि आत्मबल गिर्ने रहेछ।’
यस्तो बेला परिवार, आफन्त र साथीभाइको सहयोग र सद्भाव निकै महत्वपूर्ण हुने उनी सुनाउँछन्। परिवारको साथले नै पुनः आत्मबल बलियो भएको उनी बताउँछन्।
उनले कोरोना जिते। तर, अस्पतालमा आउने सयौं बिरामीको अनुहार देखेर उनी डराउँछन्। पहिल्यै दीर्घ रोग भएका र रोग प्रतिरोधी क्षमता कम भएका ती बिरामीलाई कोरोनाले नछोओस् भन्ने कामना गरिरहन्छन्।
यस अस्पताल अन्तर्गत तीनवटा फार्मेसी सञ्चालनमा छन्। जसमा १० जना फार्मासिस्ट छन्। हालसम्म तीनजना फर्मासिस्ट कोरोना संक्रमित भइसके।
जोखिमसँगै काम
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र कोभिड अस्पताल होइन। तर कोभिडको जोखिम भने कम छैन।
कोभिड अस्पतालमा हुने उपचार जस्तै यहाँ पनि सोही किसिमले उपचार दिन सकिए बिरामी र कर्मचारी दुवै सुरक्षित हुने उनी बताउँछन्।
उनले भने, ‘यो अति नै जोखिम ठाउँ हो। कोभिड १९ मा नछुट्याइए पनि यो अस्पताललाई पनि लगभग कोभिड अस्पतालको उपचार सरह नै यहाँ पनि भए हुन्थ्यो जस्तो लाग्छ।’
जोखिम मालेर काम गरेपनि आफुहरुले कुनै किसिमको जोखिम भत्ता नपाएकोमा उनको आपत्ति छ।
सेवा सहज बनाउन अपनाइए यस्ता उपाय
कोरोना संक्रमणको जोखिमलाई कम गर्न अस्पतालको फार्मेसीमा विभिन्न उपायहरु अपनाइएका छन्। तर सवैजना बिरामीले भने यसलाई पालना नगर्दा समस्या हुने गरेको उनी बताउँछन्।
उनी भन्छन्, ‘हामी बिरामी बीच दूरी कायम गर्न भने पनि सकिरहेका छैनौं। जति भनेपनि धेरैले लागू नै नगर्ने।’
तर औषधि किनबेच गर्ने तरिकामा भने परिवर्तन गरिएको छ। फार्मासिस्टले भित्र माइकबाट बोल्छन्। बाहिर राखिएको स्पिकरबाट बिरामीले फार्मासिस्टको आवाज सहज तरिकाले सुन्न सक्छन्।
बिरामी र फार्मासिस्ट बीच दूरी बढाउन भित्रबाट माइकिङको व्यवस्था गरिएको श्रेष्ठले बताए। तर बिरामीको भीडलाई भने नियन्त्रण गर्न नसकेको उनी स्वीकार्छन्।
‘हामीले टाढा बनाउने हिसाबमा यति चाँही गर्न सक्यौँ,’ उनले भने, ‘तर बिरामीको भीडलाई नियन्त्रण गर्न हामी चुकेका छौँ।’