काठमाडौं– सरकारले कोरोना संक्रमण विरुद्धको भ्याक्सिन उत्पादन गरिरहेका देशलाई कूटनीतिक पत्र पठाएको छ।
सरकारले भ्याक्सिन उत्पादन गरिरहेका देशलाई उनीहरुले उत्पादन गरेको भ्याक्सिन प्रयोग गर्न मिल्ने भए नेपाललाई कसरी सहयोग गर्न सकिन्छ भन्ने विषयमा पत्राचार गरेको हो।
सरकारद्वारा गठित कोभिड भ्याक्सिन व्यवस्थापन सचिवालयका एक सदस्यका अनुसार नेपालले भारत, चीन, रसिया, अमेरिका, जर्मनी, अष्ट्रेलिया, बेलायत लगायतका देशलाई पत्र पठाइसकेको छ।
‘ती देशमा उत्पादन भइरहेको खोप अहिले थर्ड फेजको ट्रयालमा रहेकोले ती देशको खोप जनतामा प्रयोगको लागि स्वीकृत भए भने हामीलाई कसरी सहयोग गर्न सक्छन् भन्ने हो। त्यो अनुदानका लागि मात्र होइन, भोली खोप खरीद गरेरै ल्याउनेबारेमा पनि पत्रमा उल्लेख गरिएको छ,’ उनले भने।
पत्र पठाएका देशमध्ये केहीले प्रारम्भिक प्रतिक्रिया पठाइसकेको र उनीहरुले सकारात्मक सन्देश दिएको उनले जानकारी दिए।
सरकारले विश्व बैंकलाई पनि कोभिड भ्याक्सिनमा सहयोगका लागि पत्र पठाएको उनले जानकारी दिए। उनले पत्रमा भ्याक्सिनले अनुमति पाएको कति समयमा नेपाललाई कति खोप उपलब्ध गराउँछ सकिन्छ भनेर समेत सोधिएको बताए।
नेपालमा कोभिड भ्याक्सिन ल्याउन सरकारले अन्य पूर्वतयारी समेत गरिरहेको छ। भ्याक्सिन राख्ने कोल्ड चेनको बिस्तार, आवश्यक निर्देशिका, गाइडलाइनहरुको निर्माण, भ्याक्सिन आएपछि कसले पहिले पाउँछ भन्ने जोखिमका आधारमा वर्गिकरण गर्ने कार्य गरिएको छ।
सरकारलाई कोभ्याक्समार्फत २० प्रतिशत जनतालाई पुग्ने भ्याक्सिन उपलब्ध हुनेछ भने बाँकी आवश्यक खोप सरकारले खरीद गर्नुपर्नेछ।
सरकारले १५ वर्षमाथिका ७२ प्रतिशत जनसंख्यालाई भ्याक्सिन उपलब्ध गराउने योजना बनाएको छ।