काठमाडौं– राष्ट्रिय ट्रमा सेन्टरमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गर्ने नर्स जिता बराललाई नेपाल नर्सिङ संघले सचेत गराएको छ।
संघले नर्स बराललाई आगामी दिनमा स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार नर्गन भनी सचेत गराएको हो।
संघकी अध्यक्ष मन कुमारी राईले नर्सिङ संघको विधान अनुसार पहिलो पटकलाई नर्स बराललाई सचेत गराएर छाडिएको बताइन्।
‘नर्स जिता बरालले ट्रमा सेन्टरमा स्वास्थ्यकर्मी माथि गरेको दुर्व्यवहारको विषयमा छानवीन टुंगिएको छ,’ संघकी अध्यक्ष राईले भनिन्, ‘निष्कर्षमा हामीले हाम्रो विधान अनुसार अबदेखि यस्तो कार्य नगर्नु भनेर सचेत गराएका छौं।’
बरालले गत असोज ६ गते सेन्टरमा ड्युटीमा खटिएका स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको भिडियो सार्वजनिक भएको थियो। सो भिडियो सार्वजनिक भएसँगै राष्ट्रिय ट्रमा सेन्टरले नर्सिङ संघलाई आवश्यक कारबाहीका लागि पत्राचार समेत गरेको थियो ।
संघले गत असोज ९ गते तीन सदस्यीय छानवीन समिती गठन गरी घटनाको विषयमा छानविन शुरु गरेको थियो।