काठमाडौं - देशभर हाल ३ सय ३२ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। २ सय ८३ जना आइसियु र ४९ जना भेन्टिलेटरमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रदेश १ मा २३ आइसियु र ४ भेन्टिलेटरमा, प्रदेश २ मा ११ आइसियु र एकजना भेन्टिलेटरमा बागमती प्रदेशमा १ सय ६ आइसियु र २६ भेन्टिलेटरमा, गण्डकीमा ७९ आइसियु र १० भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ५० आइसियु र ३ भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ।
कर्णाली प्रदेशमा ७ जना आइसियु र ३ जना भेन्टिलेटरमा, सूदुरपश्चिम प्रदेशमा ७ आइसियु र २ जना भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यसअघि बिहीबार आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको संख्या ३ सय ३२ थियो।
पछिल्लो २४ घण्टामा नेपालमा ७८२ जना कोरोना संक्रमित भेटिएका छन्। योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५२ हजार ४७४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।
शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै कोरोना संक्रमित मृतकको संख्या १ हजार ७ सय ६५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमा उल्लेख छ।
पछिल्लो २४ घण्टामा ५७०६ जनाको पिसिआर परीक्षण भएको छ। नेपालमा हालसम्म १८ लाख ६१ हजार ४३० जनाको पिसिआर परीक्षण भएको छ। हाल क्वारेन्टाइनमा ४२७ रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा हालसम्म कुल संक्रमितमध्ये ९ हजार ३१७ जना सक्रिय संक्रमित छन्।
आज १०२९ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसँगै कुल निको हुनेको संख्या २ लाख ४१ हजार ३९२ पुगेको छ।