काठमाडौं- महाराजगञ्जस्थित कान्ति बाल अस्पतालले बाल मानसिक रोगको सेवा छुट्टै भवनमा सुरु गर्ने तयारी गरेको छ। बाल श्रमिक सरोकार केन्द्र (सिविन) र नर्भे सरकारको सहयोगमा उक्त भवन निर्माण गरिएको हो।
यही पुस २२ गते परेको ५९ औँ वार्षिकोत्सवको अवसरमा भवन उद्घाटन गर्ने तयारी भएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताए। बाल मानसिक रोगको बहिरङ्ग विभागको रुपमा उक्त भवनबाट सेवा दिइने उनले जानकारी दिए।
कान्ति बाल अस्पतालले विगत पाँच वर्षदेखि बाल मानसिक रोगको सेवा सञ्चालन गरिरहेको छ। बालबालिमा हुने मानसिक समस्या तथा रोगहरुको परामर्श, निदान, परीक्षण र उपचार हुने अस्पतालले जनाएको छ।
भवनको शिलन्यास २०७३ सालमा तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले गरेका थिए। किशोरकिशोरीमा हुने मानसिक स्वास्थ्य समस्यालाई पनि व्यवस्थापन गर्ने उद्देश्य रहेको पौडलले बताए।