काठमाडौं– नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले होम आइसोलेसनमा रहेका कोरोना संक्रमतिको अवस्थाबारे अनुसन्धान सुरु गरेको छ।
कोरोना संक्रमण भएर घरमै आइसोलेसनमा बसेका संक्रमितको वास्तविक अवस्थाबारे जानकारी लिन अनुसन्धान सुरु गरिएको परिषद्का अनुसन्धान अधिकृत डा मेघनाथ धिमालले जानकारी दिए।
सरकारले लक्षणविहीन तथा सामान्य लक्षण भएका कोरोना संक्रमितलाई होम आइसालेसमा राख्ने निती लिएपछि हाल अस्पतालमा भन्दा होम आइसोलेसनमा बढी संक्रमित छन्। सामान्य लक्षण भएका कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्ने भनिएपनि पछिल्लो समय होम आइसोलेसनमा समेत संक्रमितको मृत्यु हुन थालेको छ।
होम आइसोलेसनमा बस्ने संक्रमित बढ्दै गएको र उनीहरुको मृत्यु समेत हुन थालेपछि स्वास्थ्य मन्त्रालयले परिषद्लाई होम आइसोलेसनमा हुने संक्रमितको अध्ययन गर्न निर्देशन दिएको थियो।
स्वास्थ्य मन्त्रालयको निर्देशन अनुसार होम आइसोलेसनमा बसेका संक्रमितको अवस्थाबारे अनुसन्धान सुरु गरिएको डा धिमालले बताए।
‘सरकारले होम आइसोलेसनको निती लिएपछि धेरै मानिसहरु होम आइसोलेसनमा बस्न थाले, होम आइसोलेसनमा बस्नेहरुले कस्तो समस्या भोगिरहेका छन्,अहिले होम आइसोलेसनमा भएकाहरुको अवस्था कस्तो छ? भनेर बुझ्नका लागि यो अनुसन्धान सुरु गरिएको हो,’ डा धिमालले भने, ‘उपचारका लागि अन्तिम अवस्थामा अस्पताल पुग्दा होम आइसोलेसनमा बसेका संक्रमितको मृत्यु भएको कुरा पनि आयो, यसको वास्तविकता के छ? मानिसहरु किन होम आइसोलेसनमा बस्न रुचाइरहेका छन् भनेर अनुसन्धान सुरु भएको छ।’
होम आइसोलेसनमा भएका संक्रमितको अवस्थाबारे अध्ययन गर्न परिषद्का ५ जना अनुसन्धान अधिकृतलाई खटाएको छ।
अनुसन्धानका लागि होम आइसोलेसनमा रहेका संक्रमितको तथ्यांक लिएर उनीहरुसँग टेलिफोन सम्पर्क गरी अध्ययन गरिएको डा धिमालको भनाई छ। यो अनुसन्धानको नतिजा एक सातामा आउने डा धिमालले बताए।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकका अनुसार देशभर ७ हजार ९७६ जना सक्रिय संक्रमित छन्। ती मध्ये ४ हजार ५०८ जना संक्रमित होम आइसोलेसनमा रहेका छन्।
परिषद्ले भने होम आइसोलेसनमा बसेका करिव ७ सय जना कोरोना संक्रमितसँग टेलिफोन सम्पर्क गरी उनीहरुको अवस्थाबारे अध्ययन गर्ने जनाएको छ।