काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले संयुक्त अधिराज्य (युके) बाट पुस १ देखि ७ गतेभित्र नेपाल आएका व्यक्तिहरुलाई १० दिनसम्म अनिवार्य होटल क्वारेन्टाइनमा बस्न अनुरोध गरेको छ।
मन्त्रालयले सूचना जारी गर्दै संयुक्त अधिराज्य वा उक्त मुलुकको बाटो हुँदै नेपाल प्रवेश गरेका सबै व्यक्तिहरुलाई नेपाल प्रवेशको मितिले ७ देखि १० दिनभित्र नजिकैको सरकारी प्रयोगशालामा गई आरटी पिसिआर परीक्षण गर्न समेत अनुरोध गरेको छ।
संयुक्त अधिराज्यमा हालै नयाँ प्रकारको कोरोना भाइरसको प्रजाति देखापरेको भन्दै मन्त्रालयले यस्तो सूचना जारी गरेको हो।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले सबै सरकारी प्रयोगशालाहरुलाई संयुक्त अधिराज्य वा उक्त मुलुक हुँदै आउने व्यक्तिहरुको निःशुल्क पिसिआर परीक्षण व्यवस्था मिलाउन निर्देशन दिएका छन्।