काठमाडौं- स्वास्थ्यमा क्रियाशिल ट्रेड युनियन तथा पेशागत संघ संगठनहरुको संयुक्त संघर्ष समितिले वार्ता समिति गठन गरेका छन्।
आन्दोलित संयुक्त संघर्ष समितिले सरकारसँग वार्ताका लागि नेपाल चिकित्सक संघका अध्यक्ष एवं समितिका संयोजक डा लोचन कार्कीको संयोजकत्वमा आठ सदस्यीय समिति गठन गरेका हुन्।
समितिमा नेपाल स्वास्थ्यकर्मी संघका अध्यक्ष रामजी घिमिरे, नेपाल स्वास्थ्यकर्मी युनियनका अध्यक्ष उज्वल कुमार शर्मा, मेडिकल ल्याबोरेटोरी एशोसिएसन अफ नेपालका अध्यक्ष राजेन्द्र खड्का, नेपाल डेन्टल साइन्स हाइजिनिष्ट एशोसिएसनका अध्यक्ष माईकल देवकोटा, हेल्थ असिस्टेन्ट संघ नेपालका अध्यक्ष दाताराम अधिकारी, कृष्णमान शाक्य र लता महत सदस्य छन्।
यसअघि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेको छ। समितिमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतम र सहसचिव दामोदर रेग्मी सदस्य छन्।
सरकारले वार्ता समिति गठन गरेपछि आफुहरुले पनि वार्ताका लागि समिति गठन गरेको डा कार्कीले बताए। उनले संभवत मंगलबार वार्ता हुन सक्ने जानकारी दिए।
उनले भने, ‘सरकारले वार्ता समिति गठन गरेपछि हामी पनि तयारी स्वरुप वार्ताका लागि समिति गठन गरेका हौँ। हालसम्म यकिन नभएपनि मंगलबार वार्ता हुने संभावना छ।’
विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन्। आन्दोलन स्वरुप उनीहरुले आइतबार माइतीघर मण्डलामा मौन धर्ना समेत दिएका थिए।
उनीहरुले गत मंसिर ७ गते मन्त्रालय सामु विभिन्न १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाउँदै २१ दिने अल्टिमेटम दिएका थिए।
कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।
नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रतिगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायत २६ वटा संघ संगठनले ऐक्यवद्धता जनाएका छन्।