काठमाडौं– कोरोना परीक्षणका लागि नमूना संकलन गर्दा व्यक्तिहरुको सहि ठेगाना उल्लेख नहुँदा कोरोना पोजेटिभ भएका व्यक्तिहरुलाई सम्पर्क गर्न कठिनाई भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
नमूना संकलन गर्दा सहि ठेगाना उल्लेख नहुँदा कोरोना पोजेटिभ आएका व्यक्तिहरुको सम्पर्कमा आएकाहरुको खोजी अनुसन्धान तथा जाँचपड्ताल गर्न र स्थान विशेष पहिचान गर्न कठिनाई भइरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बताए।
विभिन्न निकायहरुले कोरोना परीक्षणका लागि व्यक्तिहरुको नमूना संकलन गर्ने क्रममा आ–आफ्नो तरिकाले ठेगाना लेखिदिदा समेत उनीहरुको खोजी गर्न समस्या भएको डा गौतमको भनाइ छ।
सहि ठेगाना नभएकै कारण संक्रमितसँग सम्पर्क हुन नसकेपछि स्वास्थ्य मन्त्रालयले सबै प्रयोगशाला, अस्पताल र सम्बन्धित निकायहरुलाई नमूना संकलनकै समयमा स्वाब दिएका व्यक्तिहरुको हालको बसोबासको ठेगाना उल्लेख गर्न समेत निर्देशन दिएको डा गौतमले जानकारी दिए।
उनले कोरोना संक्रमितको सहि ठेगाना नलेख्दा पछि समस्या वा उजूरी पर्न आएमा कारबाही गरिने पनि जानकारी दिए।