काठमाडौं– आन्दोलनरत स्वास्थ्य संयुक्त संघर्ष समिति र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबीच वार्ताको सुरुवात भएको छ।
१८ बुँदे माग सहित आन्दोलनमा उत्रिएका समिति र मन्त्रालयबीच समस्याको समाधान निकाल्न बुधबारदेखि वार्ता सुरु भएको हो।
मन्त्रालयमा भएको तीन घण्टा लामो वार्तामा बुँदा नम्बर १ र २ मा छलफल भएको समितिका संयोजक डा लोचन कार्कीले बताए। मागका विषयमा छलफल गर्न बिहीबार पुनः दिउँसो १ बजेदेखि वार्ता सुरु हुने उनले जानकारी दिए।
उनले भने, 'आजदेखि वार्ताको सुरुवात भएको छ। हामीले अघि सारेका बुँदा नम्बर १ र २ मा मात्र छलफल सुरु भएको छ। बाँकी भोलिको वार्तामा छलफल हुन्छ।'
स्वास्थ्य मन्त्रालयले प्रमुख विशेषज्ञ डा रोशन पोखरेलको संयोजकत्वमा वार्ता समिति गठन गरेपछि संयुक्त संघष समितिले पनि सोमबार वार्ता टोली गठन गरेको थियो।
विभिन्न १८ बुँदे माग सहित स्वास्थ्य क्षेत्रका २६ वटा संघ संगठन आन्दोलित छन्। उनीहरुले गत मंसिर ७ गते मन्त्रालय सामु १८ बुँदे माग सहितको ज्ञापन पत्र बुझाँदै २१ दिनको अल्टिमेटम दिएका थिए।
कोभिड लगायत अन्य जटिल रोगको सबै उपचार राज्यले निशुल्क गर्नुपर्ने, आइसियु, भेन्टिलेटर लगायत उपकरणहरुको संख्या देशैभरका अस्पतालमा वृद्धि गरी सेवा विस्तार गर्नुपर्ने, निश्चित मापदण्डका आधारका सबै स्वास्थ्यकर्मीलाई क्वारेन्टाइन, आइसोलेसन र बिदाको व्यवस्थापन हुनुपर्ने लगायत १८ बुँदे माग उनीहरुले अघि सारेका हुन्।
नेपाल चिकित्सक संघ, नेपाल स्वास्थ्यकर्मी संघ, राष्ट्रिय स्वास्थ्यकर्मी संघ, नेपाल स्वास्थ्यकर्मी युनियन, अखिल नेपाल प्रतिगतिशील स्वास्थ्यकर्मी संगठन, नेपाल राष्ट्रिय स्वास्थ्यकर्मी संगठन लगायत २६ वटा संघ संगठनले ऐक्यवद्धता जनाएका छन्।