काठमाडौं- कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ नेपालीको मृत्यु भएको छ। गैरआवासीय नेपाली संघका अनुसार यो साता बेलायतमा १ जना र पोर्चुगलमा २ जना नेपालीको मृत्यु भएको हाे।
गैरआवासीय नेपाली संघअन्तर्गतको स्वास्थ्य समितिका अनुसार योसँगै २० देशमा कोरोना भाइरसबाट ३ सय १५ जना नेपालीकाे मृत्यु भइसकेकाे छ।
संघको स्वास्थ्य समितिका संयोजक सन्जीव सापकोटाका अनुसार शनिबार साँझसम्म विभिन्न ५० देशमा रहेका ५३ हजार ३ सय ८५ जना नेपालीमा कोरोना संक्रमण देखिएको छ। तीमध्ये ५० हजार ६ सय ५६ जना कोरोनामुक्त भएका छन्। यो कुल संक्रमितको ९४ प्रतिशत हो।
स्वास्थ्य समितिका अनुसार यो साता स्पेन, पोल्याण्ड, जापान, युएई, कुवेत, साउदी अरब र कतारमा रहेका थप नेपालीहरुमा कोरोना संक्रमण देखिएको छ।
हाल बेलायतलगायतका मुलुकमा देखा परेको कोरोना भाइरसको नयाँ प्रजातिकाे (उत्परिवर्तित) भाइरस छिमेकी मुलुक भारतमा पनि फैलिँदै गएकाले नेपालमा पनि उच्च सावधानीको आवश्यकता समितिले औंल्याएको छ।
भारतसहित बेलायत, यूरोपेली मुलुक, अमेरिकालगायत नयाँ प्रजातिकाे भाइरस देखा परेका देशमा बसोबास गर्ने नेपालीहरुलाई पनि सचेत रहन समितिले आग्रह गरेको छ ।