काठमाडौं- पछिल्लो समय बाजुराको कोल्टीमा आयुर्वेद उपचारमा मानिसको आकर्षण बढ्दै गइरहेको छ। कोरोना महामारीकै बीच पनि आयुर्वेदको आकर्षण देशैभरि बढिरहेको अवस्थामा दीर्घकालीन रुपमा स्वास्थ्यमा असर नगर्ने भएकाले पनि यो उपचार पद्धतिमा सर्वसाधरणहरु आकर्षित छन्। यस प्राथमिक स्वास्थ्य केन्द्रमा जीवनशैली कार्यक्रम अन्तर्गत आयुर्वेद चिकित्सक डा अच्युतशाली घिमिरे र वैद्य छत्र बम कार्यरत छन्। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मार्तडीमा समेत अभाव रहेको चिकित्सकीय सेवा यस दुर्गम भेगका जनताले पाउँदा यहाँ सबैजना हर्षित छन्।
पछिल्ला महिनाहरुमा दैनिक सरदर ३० देखि ३५ जना बिरामीहरु आयुर्वेद सेवाबाट लाभान्वित हुँदै आइरहेका छन्। अम्लपित्त, प्रमेह, स्वाशविकार, अतिसार, आमवात, वातरक्त, उदररोग, त्वकविकार, प्रसूतिविकार, स्त्रीरोग, जरारोग, शिरोरोग लगायतमा सेवाग्राहीले उपचार र निःशुल्क औषधि पाइराखेका छन्। त्यस्तै पञ्चकर्म सेवा अन्तर्गत स्नेहन र स्वेदन सेवा पनि सञ्चालनमा रहेको कुरा उपभोग गरेका स्थानीयले बताएका छन्। बाजुरा जिल्लाको दुर्गम भेगहरु बिछ्या, रुगिन, हिमाली, धुलाचौर र मुगुको खत्याडाबाट समेत लामो दूरी पार गरेर बिरामीहरु आयुर्वेद सेवा लिन कोल्टी आउने गरेको पाइएको छ।
यहाँका मानिसले विस्तारै आयुर्वेदको महत्व बुझ्दै गएपछि आकर्षण बढ्दै गएको कुरा स्वास्थ्य केन्द्रका प्रमुख डा राजुराज जैशीले बताएका छन्। 'पहिला धेरै भीडभाड एलोपेथी चिकित्सामा मात्र हुन्थ्यो तर आयुर्वेद सेवा उपलब्ध हुने भएपछि दुवै चिकित्सा पद्धतिमार्फत चाप नियन्त्रण गर्न मद्दत पुगेको छ,' उनले भने।
अझै पनि केन्द्रमा आयुर्वेद सेवालाई विस्तार गर्न सकिने तर औषधि, सामग्री र ठाउँको अभावमा गर्न नसकिएको कुरा गुणस्तरीय सेवा दिइरहेका वैद्य छत्र बमले बताए।
'यहाँ पानी, बत्ती र सहज सडक सञ्जालको अभावमा समेत अति नै महँगीमा कष्टकर जीवन बाँच्दै सेवा दिइरहेका छौं तर हामी दुवै आयुर्वेदकर्मीलाई भने न्यूनतम तलब बाहेक कुनै दुर्गम भत्ता वा अरु केही प्रोत्साहन उपलब्ध भएको छैन,' आयुर्वेद चिकित्सक डा अच्युतशाली घिमिरेले गुनासो पोखे, 'केही पर्दा घर जान आउन हवाइजहाजको भाडा र कोल्टीमा खान बस्नको खर्चमा नै तलब ठिक्क हुन्छ।' स्वास्थ्य केन्द्रमा नै कार्यरत अन्य स्वास्थ्यकर्मीको दाँजोमा आयुर्वेद स्वास्थ्यकर्मीलाई राज्यले तलब र सुविधा दुवैमा भेदभाव गरेको बताउँदै उनले आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको समेत उनले ध्यानाकर्षण गराए।
'मैले यहाँ आएर मानिसहरुको स्थानीय जडीबुटी र आयुर्वेद चिकित्सा प्रतिको लगाव बुझ्ने अवसर पाएको छु त्यसैले पनि अब आयुर्वेद क्षेत्रको समसामयिक र अपेक्षित सुदृढीकरणका लागि देशका संघीय संरचना अनुसार स्थानीय निकायहरुमा आयुर्वेद जनशक्तिहरु परिचालन गर्नु जरुरी छ। मौलिक राष्ट्रिय चिकित्सा प्रणाली आयुर्वेदलाई नेपालको दुर्गम भेगसम्म अझ विकास र विस्तार गर्नका लागि सरकारी स्तर र आयुर्वेद सम्बद्ध सबै सरोकार वाला निकायहरु समयमै जवाफदेही हुनु नितान्त जरुरी छ,' डा घिमिरेले भने।