काठमाडौं- नेपालमा होम आइसोलेसनमा बसेका ६५.९ प्रतिशत कोरोना संक्रमितलाई कुनै पनि लक्षण नदेखिएको पाइएको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले बिहीबार सार्वजनिक गरेको अध्ययनले यस्तो तथ्यांक देखाएको हो।
होम आइसोलेसनमा बसेका कोरोना संक्रमितको स्वास्थ्य अवस्थाबारे गरिएका अध्ययनमा ६५.९ प्रतिशत संक्रमित लक्षणविहीन रहेको पाइएको हो। परिषद्ले होम आइसोलेसनमा ५७.८ प्रतिशत पुरुष र ४२.२ प्रतिशत महिलामा गरेको अध्ययनमा २१.१ प्रतिशतमा दीर्घरोग (जस्तै मधुमेह, टीबी, दम) रहेको समेत जनाएको छ। तीमध्ये ६४ प्रतिशत संक्रमितको कुनै ट्राभल हिस्ट्री थिएन।
उक्त अध्ययनमा लक्षणयुक्त कोरोना संक्रमितलाई मुख्यतया ज्वरो आउने, खोकी, चिसो महसुस हुने, कमजोरी हुने, स्वादको कमी, गन्ध नआउने लक्षण देखिएको उल्लेख छ। मांशपेशी दुख्ने, टाउको दुख्ने, सास फेर्न गाहे हुने, छाती दुख्ने, जोर्नी दुख्ने र वाकवाकी लाग्ने जस्ता लक्षण देखिएको देखाएको छ।
अध्ययनमा सहभागी संक्रमितमध्ये ५२ दशमलव ५ प्रतिशतले परिवारसँग सामाजिक दुरी पूर्णरुपमा र ३५ प्रतिशतले कहिलेकाहीँ सामाजिक दुरी कायम गरेको समेत पाइएको छ। संक्रमित भई उपचार गरिरहेकामध्ये ५९.३ प्रतिशतले घरेलु, ५.६ प्रतिशतले आयुर्वेदिक र २९.६ प्रतिशतले आधुनिक औषधि उपचार गरेको अध्ययनले देखाएको छ।
परिषद्ले गरेको सो अध्ययनमा ५८.२ प्रतिशतमा होम आइसोलेसनमा रहँदा मानसिक अशान्ति भएको, १० प्रतिशतमा रोग लागेको स्वीकार्न समस्या भएको, १.२ प्रतिशतमा होम आइसोलेसनमा रहँदा कुनै न कुनै मानसिक समस्या देखिएको समेत जनाएको छ।
त्यसबाहेक ४२.८ प्रतिशतलाई छुट्टै बस्ने कोठा व्यवस्थापन गर्न,२६.१ प्रतिशतलाई शौचालयको व्यवस्थापन गर्न, २०.७ प्रतिशतलाई सामग्री ल्याउन, १० प्रतिशतलाई औषधि ल्याउन र ५ प्रतिशतलाई परिवारको साथ नरहेको पनि अध्ययनले देखाएको छ। यस्तै, २२.६ प्रतिशत संक्रमितलाई आपतकालीन अवस्थामा अस्पताल पुग्न यातायातको समस्या रहेको पनि अध्ययनले देखाएको छ।