काठमाडौं- टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले कोभिड बाहेकका सरुवा रोगका बिरामीलाई पनि भर्ना गरेर उपचार सेवा दिने भएको छ।
अस्पतालले आगमी माग १ गतेदेखि अन्य सरुवा रोगका बिरामीलाई पनि भर्ना गरी उपचार सेवा दिने योजना रहेको अस्पतालका निर्देशक डा सागर राजभण्डारीले स्वास्थ्यखबरलाई बताए।
नेपालमा कोरोना संक्रमित बढ्दै गएपछि शुक्रराज अस्पताललाई कोभिड विशेष अस्पतालको रुपमा सञ्चालन गरी कोभिड संक्रमित बिरामीलाई मात्र भर्ना गरिएको थियो।
सबै अस्पताललाई कोभिड बाहेकका नियमित सेवा पनि सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयले केही दिनअघि निर्देशन दिइसकेको छ।
स्वास्थ्य मन्त्रालयले कोभिड बाहेकका नियमित सेवाहरु सञ्चालन गर्न निर्देशन दिएपछि शुक्रराज अस्पतालले पनि कोभिड बाहेकका बिरामीलाई पनि भर्ना गरेरै उपचार सेवा दिने तयारी गरेको अस्पतालका निर्देशक डा राजभण्डारीको भनाइ छ।
‘हाम्रो अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरु उपचारका लागि आउँथे, कतिपय रोगका बिरामीले यहाँ निःशुल्क उपचार पाउँथे,’ डा राजभण्डारीले भने, ‘तर कोभिडका मात्र बिरामीलाई भर्ना गर्दा अन्य रोगका बिरामीले बाहिर दुःख पाएका छन्। त्यसैले अब हामी पनि अन्य रोगका बिरामीलाई पनि भर्ना गरेर सेवा दिने तयारीमा छौं।’
डा राजभण्डारीले शुक्रराज अस्पतालमा सेवा बन्द हुँदा सर्पले टोकेका, डेंगु, मलेरिया लगायतका बिरामीहरुले दुःख पाएको गुनासो आएको पनि बताए।
सबै अस्पताललाई ननकोभिड बिरामीको उपचार पनि गर्ने व्यवस्था गर्दा शुक्रराज अस्पतालमै कोभिडका बिरामीको चाप बढी हुने अवस्था आए वा स्वास्थ्य मन्त्रालयले कोभिडका मात्र बिरामी हेर्न निर्देशन दिएमा भने अन्य सरुवा रोगका बिरामीलाई भर्ना नगरिने उनले बताए।
यसका लागि अस्पतालले अन्य सरुवा रोगका बिरामीको भर्ना गरी उपचार सेवा सुरु गर्ने जानकारी सहितको पत्र स्वास्थ्य मन्त्रालयलाई पनि पठाउने उनले बताए।
डा राजभण्डारीले अस्पतालमा अन्य सरुवा रोगका बिरामीहरुलाई ओपिडि सेवा भने दिन थालिसकिएको पनि जानकारी दिए।
यसअघि शुक्रराज अस्पतालमा भर्ना हुनुपर्ने अवस्थामा आएका सरुवा रोगका बिरामीलाई वीर अस्पतालमा पठाउने गरिएको थियो।
अस्पतालमा एचआइभी संक्रमितहरुका लागि एआरटी सेवा, परामर्श, हेपटाइटिसका बिरामीलाई दिइने ओपिडि सेवा भने बन्द नगरिएको डा राजभण्डारीले बताए।
हाल शुक्रराज अस्पतालमा १० जना आइसियु, एक जना कोभिड आइसोलेसन र ६ जना कोभिड वार्डमा उपचारत छन्।