काठमाडौं- कोभिड भ्याक्सिन लगाउन महिला स्वास्थ्य स्वयंसेविका सहित विभिन्न स्वास्थ्य संस्थामा कार्यरत करिब दुई लाख बढी कर्मचारीको सूची स्वास्थ्य मन्त्रालयमा आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो चरणमा आउने कोभिड-१९ विरुद्धको भ्याक्सिन लगाउने फ्रन्टलाइनरको सूची सबै स्थानीय तहबाट माग गरेको थियो।
सोही अनुसार ७७ जिल्लामध्ये काठमाडौं बाहेकका जिल्लाले एक लाख ७० हजार जनाको सूची मन्त्रालय पठाएका छन्।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंको सूची आउन बाँकी छ। काठमाडौंमा करिब ५० हजार स्वास्थ्यकर्मी हुनसक्ने अनुमान मन्त्रालयको छ। यसअनुसार करिब २ लाख ३० हजार हाराहारी स्वास्थ्यकर्मीले भ्याक्सिन पाउने छन्। उक्त सूचीमा महिला स्वास्थ्य स्वयंसेविकाको संख्या पनि सम्मिलित छ।
मन्त्रालयले गत सोमबार बुधबारसम्म मन्त्रालयमा आइपुग्ने गरी सबै स्थानीय तहभित्र रहेका स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सूची माग गरेको थियो।
सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मीहरुलाई कोभिड भ्याक्सिन लगाउने तयारी गरेको छ।
स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो, ‘भ्याक्सिन लगाउनका लागि सूचीमा नाम हुन अनिवार्य छ। भ्याक्सिनको उपलब्धता हेरेर पहिलो चरणमा कति भ्याक्सिन आउँछ, सोही अनुसार भ्याक्सिन दिइने छ।’