काठमाडौं- अभियन्ता डा गोविन्द केसीले काठमाडौं विश्व विद्यालय (केयु) को उपकुलपति नियुक्ति निष्पक्ष र न्यायोचित गर्न माग गरेका छन्।
डा केसीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै केयू पदाधिकारी नियुक्ति गर्न सर्च कमिटिले प्रक्रिया अघि बढाएको भन्दै आफ्नो ध्यानाकर्षण भएको उल्लेख गरेको छन्।
उनले उपकुलपति पदका लागि तीन दर्जनभन्दा बढी आवेदन परेको भन्दै डा केसीले विज्ञहरुबाटै सबै उम्मेद्वारको योग्यता, अनुभव र भिजनको मुल्यांकन गरेर मात्रै नियुक्त गर्न माग गरेका छन्।
उनले विगतका वर्षहरुमा केयुको मेडिकल शिक्षामा चरम अनियमिता र बेथिति देखिएको भन्दै पदाधिकारीहरु केडिकल कलेजको इशारामा चल्ने गरेको आरोप लगाएका छन्।
‘निजी मेडिकल कलेजहरुका लागि सरकारले तोकेको भन्दा बढी एमबिबिएस कार्यक्रमको शुल्क लिनेदिने गरी अवैध निर्णय समेत भएका छन्,’ डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘त्यसैले हामीसँग पछिल्लो सत्याग्रहमा भएका सम्झौताहरु समेत कार्यान्वयन हुने गरी तथा सक्षम र नैतिकवान व्यक्तिको नियुक्ति हुने गरी सो प्रक्रिया अघि बढाउन सम्बन्धित सबैसमक्ष माग गर्दछौँ।’