काठमाडौं– चिकित्सा शिक्षा आयोगले स्नातकोत्तर तह (पिजी)का विभिन्न कार्यक्रमहरुको म्याचिङ तथा विद्यार्थी भर्नाका लागि एकसाताभित्र सूचना प्रकाशित हुने जनाएको छ।
आयोगका सूचना अधिकारी सेमन्तराज कोइरालाका अनुसार विद्यार्थी भर्नाका लागि आयोगको परीक्षा समितिको बैठकले एकसातामा म्याचिङका लागि सुचना प्रकाशित गर्ने तयारी गरेको छ।
‘स्नातकोत्तर तहको म्याचिङ र भर्ना प्रक्रियाका लागि आयोगको परीक्षा समितिले निर्णय गरेपछि सूचना प्रकाशित हुन्छ,’ आयोगका सूचना अधिकारी कोइरालाले भने, ‘आगामी सातासम्ममा सूचना प्रकाशित हुन्छ।’
स्नातकोत्तर तहको प्रवेश परीक्षामा उर्तीण गरी योग्यताक्रममा पर्न सफल उम्मेदवारहरुलाई भर्नाका लागि विषय र शिक्षण संस्था तोकी बढीमा २५ वटा प्राथमिकता छनोट गर्ने अवसर प्रदान गरिने आयोगले जनाएको छ।
त्यसका लागि आयोगको प्रवेश परीक्षा उत्तीर्ण गरेका उम्मेदवारहरुले अनलाइन प्रणालीबाटै आफुले पढ्न चाहेको विषय र कलेजको नाम प्राथमिकताको आधारमा छनोट गरी आयोगमा पठाउन सक्नेछन्। विगतमा ओपन हाउस काउन्सेलिङ भनेझैँ अहिले म्याचिङको व्यवस्था गरिएको छ।
आयोगले तोकेको समयसिमा भित्र आवेदन दिएका उम्मेदवारहरुको योग्यताक्रम अनुसार पहिलो चरणको म्याचिङ लिस्ट प्रकाशन गरिने छ।
पहिलो चरणमा विदेशी विद्यार्थी र सरकारी सिटमा म्यचिङ गरिने बताइएको छ। त्यसपछि रिक्त भएका सिटहरुमा खुला तर्फ थप हुने आयोगका सूचना अधिकारी कोइरालाको भनाइ छ।
आयोगले स्नातकोत्तर तहका विभिन्न कार्यक्रमहरुको लागि सरकारी तर्फ ६२८, खुलामा ७८७ र विदेशी विद्यार्थीका लागि १५७ सिट निर्धारण गरिसकेको छ।
चिकित्सा शिक्षा आयोगले पूर्णता पाएपछि पहिलो पटक स्नातकोत्तर तहको एकिकृत परीक्षा प्रणाली लागु गरेको हो।
यसअघि विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठानहरु आफैंले प्रवेश परीक्षा लिएर विद्यार्थी भर्ना प्रकृयाका लागि काउन्सिलिङ गर्ने गरेका थिए।
आयोगले एकिकृत परीक्षा सञ्चालन गरेपछि काउन्सेलिङको स्वरुप परिवर्तन भइ अनलाइन प्रणालीबाटै म्याचिङ सिस्टम लागु गरिएको आयोगका सुचना अधिकारी कोइरालाको भनाइ छ।
उनले भने, ‘विद्यार्थी भर्नाका लागि काउन्सेलिङ हुँदैन, म्याचिङ अनलाइन प्रणालीमा छ, म्याचिङ सिस्टम नै काउन्सेलिङको एउटा रुप हो।’
पिजीमा कुन कलेजमा कति सिट?