काठमाडौं- बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका जुनियर रेजिडेन्ट चिकित्सकहरु कोरोना उपचारमा जोखिम भत्ता नपाएको भन्दै आन्दोलित बनेका छन्।
कोरोना महामारीमा खटिएपनि प्रतिष्ठानले हालसम्म जोखिम भत्ता नदिएको भन्दै उनीहरु आन्दोलित बनेका हुन्। आन्दोलन स्वरुप माघ १ गतेदेखि कोभिडको ड्युटी बहिष्कार गरेको जुनियर रेजिडेन्ट वेलफियर सोसाइटीका उपाध्यक्ष डा पदम नेपालीले बताए।
उनले भने, ‘कोरोना महामारीमा हामीले जोखिम मोलेर काम ग¥यौं। एक वर्ष जति भइसक्यो। तर अहिलेसम्म पनि हामीले जोखिम भत्ता पाएका छैनौं।’
पटक पटक अस्पताल प्रशासनलाई जोखिम भत्ता उपलब्ध गराउन माग गरेपनि कुनै सुनुवाई नभएको उनले बताए। ‘जोखिम भत्ता उपलब्ध गराउँछौं, प्रक्रियामै छ’ भन्ने मात्र प्रशासनबाट जवाफ आउने गरेको उनीहरुले बताए।
गएको नौ महिनादेखि जोखिम भत्ताको माग गरेको सोसाइटीले जनाएको छ। माघको पहिलो साता कोभिडको ड्युटी बहिष्कार गर्ने र उक्त अवधिसम्म पनि माग सम्बोधन नभए आन्दोलनका अन्य कार्यक्रम गर्न बाध्य हुने डा नेपालीले बताए।
उनले भने, ‘माघ पहिलो सातासम्म माग सम्बोधन नभए हामीले धर्ना, जुलुस लगायत अन्य कार्यक्रम गर्न बाध्य हुनेछौं।’
प्रतिष्ठानमा हाल ३ सय जना जुनियर रेजिडेन्ट चिकित्सक रहेको सोसाइटीले जनाएको छ।