काठमाडौं- भारतले कोभिड-१९ विरुद्धको भ्याक्सिनसम्बन्धी नेपालसहित ६ देशका स्वास्थ्यकर्मीहरूलाई प्रशिक्षक प्रशिक्षण तालिम दिएको छ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयअन्तर्गतको खोप महाशाखाले नेपाल, माल्दिभ्स, भुटान, म्यानम्यार, बंगलादेश र मंगोलियालाई कोभिड भ्याक्सिनसम्बन्धी पहिलो प्रशिक्षण प्रशिक्षण दिएको हो।
भर्चुअल माध्यमबाट मंगलबार र बुधबार प्रशिक्षण संचालन हुने बताइएको छ। उक्त तालिम लिएपछि प्रशिक्षकहरूले भ्याक्सिन अभियानमा सहभागी हुने अन्य स्वास्थ्यकर्मीहरूलाई तालिम दिनेछन्।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले नेपालमा फागुन पहिलो साताबाट भ्याक्सिन अभियान सुरु गर्ने संकेत दिएका छन्।
उनले केही दिनअघि स्वास्थ्य मन्त्रालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा फागुन महिना आफ्नो व्यक्तिगत जीवनमा चमत्कारिक भएको भन्दै यस्तो संकेत दिएका थिए। उनले सोसमय अघि पनि भ्याक्सिन ल्याउन तयारी गरेको भन्दै भ्याक्सिन समयमा आउने र न्यायपूर्ण रुपमा वितरण हुने बताएका थिए।
नेपालमा हालसम्म कुन देशबाट कुन भ्याक्सिन आउँछ भन्ने स्पष्ट नभएपनि गतसाता औषधि व्यवस्था विभागले भारतमा उत्पादन भइरहेको कोभिसिल्ड भ्याक्सिनलाई नेपालमा आपत्कालीन प्रयोगका लागि अनुमति दिएको छ।
औषधि व्यवस्था विभागले गत माघ २ गते भारतको सेरम इन्स्टिच्युट अफ इन्डिया (एसआइआइ)ले उत्पादन गरिरहेको कोभिसिल्डलाई आपत्कालीन प्रयोगको लागि सशर्त अनुमति दिने दिएको छ। सोही कारणले पनि नेपालमा कोभिसिल्ड भ्याक्सिन आउनेमा अड्कल गरिएको छ।
कोभिसिल्ड बेलायतको अक्सफोर्ड युनिभर्सिटी र एस्ट्राजेनेकासँग मिलेर विकास गरेको भ्याक्सिन हो।
स्वास्थ्य मन्त्रालयले भ्याक्सिन त्रिभुवन विमानस्थल आइपुगेको एक सातामा भ्याक्सिन अभियान सुरु गरिसक्ने गरी तयारी गरिसकेको जनाएको छ।