काठमाडौं- भारतले नेपालसहित ६ छिमेकी देशलाई कोरोना भाइरस विरुद्धको खोप उपलब्ध गराउने भएको छ। भारतीय विदेश मन्त्रालयले मंगलबार एक विज्ञप्ति जारी गर्दै बुधबारदेखि नेपालसहितका छिमेकी देशलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउने जानकारी दिएको हो।
भारतीय विदेश मन्त्रालयको विज्ञप्ति अनुसार नेपाल, बंगलादेश, भुटान, माल्दिभ्स, म्यानमार र सेसेल्सलाई अनुदान सहायतमा कोभिड–१९ (कोरोना भाइरसविरुद्ध)को खोप उपलब्ध गराउनेछ। यी देशमा जनवरी २० (भोलिदेखि) नै खोप उपलब्ध गराइने प्रधानमन्त्री नरेन्द्र मोदीले समेत जानकारी दिएका छन्।
यस्तै श्रीलंका, अफगानिस्तान र मोरिससलाई भ्याक्सिन उपलब्ध गराउने प्रक्रिया पनि अघि बढाइएको विदेश मन्त्रालयले जानकारी दिएको छ।
भ्याक्सिन लगाउने जनशक्तलाई भारतले विभिन्न ६ देशका प्रशिक्षकहरूलाई तालिमसमेत दिइरहेको छ। भर्चुअल माध्यमबाट संचालित २ दिने तालिम बुधबार समापन हुनेछ। तालिम लिएका प्रशिक्षकले आ-आफ्नो देशमा तालिम दिनेछ।
नेपाल सरकारले भारतमा उत्पादित कोभिसिल्ड खोप ल्याउने तयारी भएको जानकारी दिएको छ। औषधि व्यवस्था विभागले पनि कोभिसिल्ड भ्याक्सिनलाई आपत्कालीन प्रयोगको अनुमति दिइसकेको छ।