काठमाडौं- नेपालमा यसै साताभित्र कोभिड-१९ विरुद्दको खोप आइपुग्ने बताइएको छ।
खोप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेको एकसाता भित्र ७७ जिल्ला अस्पतालबाट भ्याक्सिन अभियान सुभारम्भ गर्ने तयारी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको छ।
स्वास्थ्य मन्त्रालय स्रोतले भन्यो,‘खोप छिटै नै आउँछ। यही दिन भनेर भन्न सकिन्न। देशभरबाट एकै पटक खोप अभियान सुरु गर्नेबारे छलफल भएको छ। टुंगो लागिसकेको छैन।’
यद्यपि, स्वास्थ्य मन्त्रालयले कहिले र कुन खोप आउँछ भन्नेबारे खुलाइसकेको छैन।
सरकारले पहिलो चरणमा आउने ३ प्रतिशत खोप फ्रन्टलाइनर र सामाजिक दूरी कायम गरी काम गर्न नसक्ने सोसियल वर्करहरुलाई दिने योजना बनाइसकेको छ। त्यसपछि ५५ वर्षभन्दाका दीर्घरोगी सरकारको खोप पाउने प्राथमिकतामा छन्।
तर, पछिल्लो समय सरकारले कोरोना संक्रमणको र मृत्यु जोखिम रहेका जेष्ठनागरिकलाई पहिलो चरणमा खोप दिनेबारे छलफल गरिरहेको बताइएको छ।
भारत सरकारले नेपालसहितका मित्रराष्ट्रहरुलाई भारतमा उत्पादन अनुदान स्वरुप २० जनवरी (आज) बाट कोभिड १९ विरुद्दको खोप उपलब्ध गराउने मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै जानकारी गराइसकेकाे छ।
मंगलबार भारतले नेपालसहितका ६ देशलाई खोप लगाउने जनशक्तलाई भारतले विभिन्न ६ देशका प्रशिक्षकहरूलाई तालिमसमेत दिइरहेको छ। भर्चुअल माध्यमबाट संचालित २ दिने तालिम बुधबार समापन हुनेछ। तालिम लिएका प्रशिक्षकले आ-आफ्नो देशमा तालिम दिनेछन्।
भारतमा सिरम इन्स्टिच्यूटले उत्पादन गरेको कोभिडसिल्ड र भारत बोयोटेकले उत्पादन गरेको कोभ्यासिक्नले आपतकालिन प्रयोगको अनुमति पाएको छ।
स्वास्थ्य मन्त्रालय उच्च स्रोतका अनुसार नेपालमा कोभिसिल्ड आउन लागेको बताइएको छ। कोभिसिल्डलाई नेपालमा औषधि व्यवस्था विभागले गत माघ २ गते आपतकालिन प्रयोगका लागि सर्सत अनुमति दिएको थियो।