काठमाडौं– भारतबाट ल्याइएको कोरोना भाइरस विरुद्धको खोप कोभिसिल्ड त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टेकुस्थित केन्द्रीय खोप भण्डारण केन्द्रमा लगिएको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिहीबार मध्यान्ह १२ बजे एयर इन्डियाको अवतरण गराइएको खोप टेकुमा लगिएको हो।
भारत सरकारले अनुदानमा दिएर पहिलो चरणमा नेपाल ल्याइएको १० लाड डोज कोरोना विरुद्धको खोप नेपाल अवतरण भएसँगै खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखेर टेकुस्थित राष्ट्रिय खोप भण्डारण केन्द्रमा लगिएको हो।
स्वास्थ्य सेवा विभागको खोप शाखाका प्रमुख डाक्टर झलक गौतमले खोपलाई विग्रन नदिन कोल्डचेनमा राखिएको जानकारी दिए।
डा गौतमले उक्त खोपलाई रेफ्रिजेरेटर भ्यानमा राखेर आवश्यकता अनुसार प्रदेशहरुका खोप भण्डारण केन्द्रमा लागिने बताए।
उनले प्रादेशिक खोप भण्डारण केन्द्रमा पुर्याइएका खोपलाई जिल्ला जिल्लामा लगिने जानकारी दिए।
जिल्ला खोप भण्डारण केन्द्रमा लगिएको खोपहरु रेफ्रिजेरेटर भ्यानमा राखेर पहिलो चरणमा फ्रान्टलाइनमा खटिएका स्वास्थ्यकर्मीका लागि लागइने जानकारी दिए।
‘हामीले खोपलाई कोल्डचेन मेन्टेन गर्न रेफ्रिजेरेटर भ्यानबाट सबै ठाउँमा पुर्याउछौं,’ डा गौतमले भने, ‘कुन प्रदेशमा कति पठाउने भन्ने तयारी भइसकेको छ, आज खोप आइसकेको छ, त्यसैले कुन प्रदेश र स्थानीय तहमा कहिले पठाउने भनेर बैठक गरिरहेका छौं।’
डा गौतमले पहिलो चरणमा वितरण गरिने खोप ककसलाई दिने भन्ने विषयमा सूची तयार भइसकेको पनि जानकारी दिए।