काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड विरुद्धको खोपको व्यवस्थापनका लागि सातवटै प्रदेशमा संयोजक तोकेको छ।
मन्त्रालयले कोभिड खोप अभियान सञ्चालनलाई व्यवस्थित बनाउन र खोपको उचित व्यवस्थापनका लागि महाशाखा प्रमुखलाई संयोजकको जिम्मेवारी दिएको हो।
मन्त्रालयका अनुसार डा तारानाथ पोखरेललाई प्रदेश १, डा मदनकुमार उपाध्यायलाई प्रदेश २, बागमती प्रदेशमा डा गुणराज लोहनी, गण्डकी प्रदेशमा डा जागेश्वर गौतम, लुम्बिनी प्रदेशमा डा विकास देवकोटा, कर्णाली प्रदेशमा डा अनुज भट्टचन र सुदूरपश्चिम प्रदेशमा डा कृष्ण पौडेललाई खोप व्यवस्थापनका लागि संयोजक तोकिएको छ।
उनीहरुलाई सम्बन्धित प्रदेशमा खाेप अभियानका लागि तयारी, खाेप लगाउने व्यक्त्तिकाे नामावली, तयारीका क्रममा हुने समस्या समाधानका लागि सहजीकरण गर्नेलगायतकाे जिम्मेवारी दिइएकाे छ।
भारत सरकारले नेपाललाई बिहीबार १० लाख डोज कोभिड खोप उपलब्ध गराएको छ। उक्त खोपलाई मन्त्रालयले आवश्यक तयारी पुरा गरी सबै प्रदेशमा पठाउने तयारी गरेको छ। मन्त्रालयमा खोप पठाउने विषयमा शुक्रबार साँझसम्म छलफल चलेको र शनिबारबाट खोप पठाउने तयारी भएको बताइएको छ।
सरकारले ७७ जिल्लाबाट एकसाथ खोप अभियान सञ्चालन गर्ने तयारी पनि गरेको छ। यसका लागि आवश्यक जनशक्तिलाई तालिम दिने लगायतका काम समेत भइरहेको मन्त्रालयले जनाएको छ।