काठमाडौं - सरकारले कोरोना भाइरस विरुद्धको खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निर्णय गर्दै खोपको पहिलो डोज लगाएको एक महिनापछि दोस्रो डोज लगाउने भएको हो।
प्रधानमन्त्री केपी शर्मा ओलीले माघ १४ गते खोप अभियानको सुभारम्भ गर्ने भएका छन्। बिहान १० बजे भर्चुअल रुपमा खोप अभियानको उद्घाटन गर्ने मन्त्रालयले जनाएको छ।
सात वटै प्रदेशमा एकै दिन खोप अभियान सुरु गर्ने सरकारको तयारी छ। मन्त्रालयले आइतबारदेखि सात वटै प्रदेशमा खोप पठाउन समेत सुरु गरेको छ। आज बिहान गण्डकी प्रदेशका लागि खोप पोखराका लागि हिडेको मन्त्रालयले जनाएको छ। अन्य प्रदेशमा पनि आजै खोप पठाउने सरकारको तयारी छ।
यसअघि मन्त्रालयले खोपको व्यवस्थापनका लागि सात वटै प्रदेशमा संयोजक तोकेको थियो। भारत सरकारले नेपाललाई बिहीबार अनुदान सहयोग स्वरुप १० लाख डोज कोभिसिल्ड खोप उपलब्ध गराएको थियो।