काठमाडौं- चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले विभागीय प्रमुखहरुसँग सल्लाह नै नगरी सांगठनिक तथा व्यवस्थापकीय सर्वेक्षण (ओएन्डएम) गर्न लागेको खुलेको छ।
अस्पतालले प्रशासनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा दरबन्दी मिलान गर्ने भन्दै पुरानो दरबन्दी काटेर आफूअनुकूल कर्मचारी भर्ना गर्न दरबन्दी सिर्जना गर्ने गरी ओएन्डएम सर्वेक्षणको प्रस्ताव पेस गरेको बताइएको छ।
अस्पतालको सञ्चालक समितिको भर्चुअल रुपमा आस्कमिक बैठक बसी पुरानो दरबन्दी काटेर नयाँ दरबन्दी सिर्जना गर्ने गरी प्रस्ताव मन्त्रालयमा पेस गरेको अस्पतालका कर्मचारीले आरोप लगाएका छन्।
‘अस्पतालको आवश्यकताबिना नै कर्मचारी दरबन्दी थप गर्न खोजिएको छ। यस विषयमा छलफल नै नगरी आफूखुसी निर्णय गरी ओएन्डएमको प्रस्ताव मन्त्रालयमा पठाइएको छ,' अस्पतालका एक कर्मचारीले भने।
स्वास्थ्य मन्त्रालयका प्रशासन प्रमुख उक्त अस्पताल सञ्चालक समितिका पदेन सदस्य हुन्छन्। तर मन्त्रालयका प्रशासन सहसचिव दामोदर रेग्मी अवस्थ भई आइसियुमा उपचाररत रहेका समयमा उनको अनुपस्थितिमै प्रस्ताव स्वीकृत गराउन बुधबार मन्त्रालयमा बैठक बोलाइएको स्रोतले बतायो।
स्रोतले भन्यो, ‘प्रशासन सहसचिव रेग्मीलाई कोभिड भएकाले आइसियुमा उपचाररत हुनुहुन्छ। भोलि मन्त्रालयका अर्का जनसंख्यातर्फका सहसचिव शैलजा रेग्मीको संयोजकत्वमा प्रशासनतर्फका सहसचिव नभएको मौका पारी प्रस्ताव स्वीकृत गराउन लागिएको छ।’
सरकारले कोरोना संक्रमण महामारी बढेपछि नयाँ दरबन्दी थप नगर्न निर्देशन दिएको थियो। सोही कारण सरकारले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान वीर अस्पतालले पेस गरेको ओएन्डएम प्रस्ताव पनि अस्वीकार गरेको थियो।
अस्पताल प्रशासनले नयाँ थपेर पुरानो दरबन्दीमा आर्थिक भार सिर्जना गर्न लागेको आरोप अस्पतालका कर्मचारीको छ।
यता, अस्पतालका बोर्ड अध्यक्ष डा निर्मल लामिछानेले यस विषयमा आफू नबोल्ने बताए। उनले भने, ‘यो विषयमा डाइरेक्टरलाई सोध्नुहोस्, म बोल्दिनँ।’
अस्पतालका निर्देशक डा डेजकुमार गौतमसँग फोन सम्पर्क प्रयास भने सफल हुन सकेन।