काठमाडौं- स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा झलक शर्मा गौतमले कोरोनाविरुद्धको कोभिसिल्ड खोप सुरक्षित र प्रभावकारी रहेको कुरा वैज्ञानिक अध्ययनले पुष्टि गरेको बताएका छन्। खोप लगाएपछि केही व्यक्तिमा सामान्य असर देखिए पनि खोप सुरक्षित र प्रभावकारी भएको उनको भनाइ छ।
उनका अनुसार ती सामान्य असरमा खोप लगाएको ठाउँमा दुख्ने र सामान्य सुन्निने, टाउको दुख्ने, अल्छी लाग्ने, जीउ दुख्ने, जोर्नी सामान्य दुख्ने, शरीर चिसो भएको महसुस गर्ने र सामान्य ज्वरो तथा वाकवाकी लाग्ने सामान्य असर देखिएको छ।
त्यस्ता असर देखिए पनि यी सबै केही समयपछि ठीक भएको उनको भनाइ छ। स्वास्थ्य मन्त्रालयले कुनै समस्या देखिए औषधिको व्यवस्थापनसहितको समूह राखिएको जनाएको छ।
नेपालमा हालसम्म ८८ हजार जनाले कोभिड-१९ विरुद्धको कोभिसिल्ड खोप लगाएका छन्। मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार आइतबारसम्ममा प्रदेश १ मा १२ हजार ७६३, प्रदेश २ मा ११ हजार ५७, बागमती प्रदेशमा २८ हजार ६८३, गण्डकी प्रदेशमा १२ हजार ३११, लुम्बिनी प्रदेशमा १० हजार ७६०, कर्णाली प्रदेशमा ५ हजार ५५६ र सुदूरपश्चिम प्रदेशमा ६ हजार ८७७ जनालाई खोप लगाइएको हो।
भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप माघ १४ गतेदेखि देशभर १८५ खोप केन्द्रबाट अग्रपंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो।
मन्त्रालयले पहिलो चरणमा प्राथकिमता प्राप्त लक्षित समूहमा पर्ने व्यक्तिमध्ये स्वास्थ्यकर्मीले काउन्सिल दर्ता, आधिकारिक परिचय पत्र र संस्थाबाट प्रमाणीकरण गरेको विवरण तथा अन्य व्यक्तिका हकमा सम्बन्धित कार्यालयले गरेको सिफारिस पत्र जिल्लाको स्वास्थ्य कार्यालयमा नाम दर्ता गरी खोप लगाउन आग्रह गरेको छ।