काठमाडौं- नेपाल चिकित्सक संघले भेरी अस्पतालमा कार्यरत चिकित्सकलगायत स्वास्थ्यकर्मी माथि शारीरिक हातपात गरेको भन्दै भत्सर्ना गरेको छ।
संघका महासचिव डा बद्री रिजालले प्रेस विज्ञप्ति जारी गर्दै ड्युटी स्टेशनमै हातपात गर्ने र स्वास्थ्य संस्थामा अस्वाभाविक हुल हुज्जत गरिएको भन्दै निन्दा गरेका छन।
सामाजिक अभियन्ताको हवाला दिँदै स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथी हातपात गरिएको भन्दै संघले यस प्रकारको अभद्र र अमानवीय क्रियाकलापमा संलग्न कुनै पनि व्यक्ति नागरिक अभियन्ता हुन नसक्ने विज्ञप्तिमा उल्लेख गरेको छ।
‘नागरिक अभियान्ताकै नाममा गुण्डागर्दी गर्ने आपराधिक मनोवृत्तिका जोसुकै व्यक्तिलाई कानूनी दायरमा ल्याई कडा भन्दा कडा कारबाही गर्न यस संघ स्थानीय सुरक्षा निकाय तथा नेपाल सरकार समक्ष जोडदार माग गर्दछ,’ संघद्वारा जारी विज्ञप्तिमा भनिएको छ।
यस्ता प्रकारका अस्वभनीय क्रियाकलामा संलग्न व्यक्तिले समाजमा अफवाह फैलाउने, भ्रम सिर्जना गर्ने लगायतका अपराधिक गतिविधिहरुलाई पूर्ण रुपमा निषेध गर्दै शान्तिपूर्ण वातावरणमा चिकित्सकीय सेवा प्रवाह गर्ने सुरक्षित वातावरण सिर्जना गर्न सरोकारवाला निकाय समक्ष चिकित्सक संघले माग गरेको छ।
कोभिड–१९ को बढ्दो संक्रमणको समयमा सम्पूर्ण चिकित्सक तथा स्वास्थ्यकर्मीहरु संयमित भई चिकित्सकीय सेवामा समर्पित हुन समेत चिकित्सक संघले अनुरोध गरेको छ।
भेरी अस्पताल नेपालगञ्जमा सोमबार आफुलाई सामाजिक अभियन्ता दाबी गर्ने ज्ञानेन्द्र शाहीको एक समुहले पेइङ वार्डमा ड्युटीमा रहेका चिकित्सक र नर्सहरु हातपात गर्नुका साथै अभद्र व्यवहार गरेका थिए।