काठमाडौं- त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान (आइओएम) एमबिबिएस अन्तिम वर्षका विद्यार्थीले परीक्षाफल छिटो प्रकाशित गर्न माग गरेका छन्।
विद्यार्थीहरुले परीक्षा भएको एक महिनाभित्र प्रकाशित हुनुपर्ने परीक्षाफल साढे २ महिना बित्दा समेत नआउनुले विद्यार्थीको भविष्यमाथि खेलवाड भएको गुनासो गरेका छन्।
‘अस्पतालमा गई बिरामीको हेरचाह र उपचार गर्ने समयमा परीक्षाको प्रतिफल कुरिरहनु पर्दा विद्यार्थीमा मानसिक एवं नकारात्मक असर परिरहेको छ। अझै पनि ढिलासुस्ती र हेलचेक्र्याइँ गरेमा चिकित्सा अध्ययन संस्थानको विरोध गर्नु बाहेक अरु विकल्प छैन,’ परीक्षाफल पर्खिरहेका एक विद्यार्थीले भने।
आइओएमकी डिन डा दिव्यासिंह शाहले भने कोभिड-१९ कारणले गर्दा सबै तहका कार्यक्रममा रोकिएकाले ढिला भएको बताइन्। उनले काम भइरहेकाले छिट्टै परीक्षाफल प्रकाशित हुने बताइन्।
उनले भनिन, ‘एमबिबिएस अन्तिम वर्षको मात्र होइन, सबै वर्षको रिजल्टमा ढिला भएको छ। कोभिड कारण कुनै पनि परीक्षा भएको थिएन। पिजीको भर्ना गने समय यही बेला छ। अन्य कार्यक्रमहरु नर्सिङ, ल्याब टेक्सिनियन लगायतका सबै वर्षको रिजल्ट आउन बाँकी छ। काम भइरहेको छ। हामीले छिटोभन्दा छिटो काम गरिरहेका छौँ।’