काठमाडौं- राष्ट्रिय ट्रमा सेन्टरले ‘क’ वर्गको एम्बुलेन्स ( मोबाइल एम्बुलेन्स ) खरिद गरेको छ। ट्रमा सेन्टरले उक्त एम्बुलेन्स ८८ लाख रुपैयाँमा खरीद गरेको हो।
गम्भीर खालका बिरामीका लागि अत्यावश्यक सुविधा भएको ‘क’ वर्गको एम्बुलेन्स खरिद गरेको अस्पतालले जनाएको छ।
उक्त एम्बुलेन्स करिब एक सातापछि सञ्चालनान ल्याउने अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए।
दुई वटा ‘क’ वर्गको एम्बुलेन्स सञ्चालन गर्ने योजना रहेको निर्देशक पौडेलले बताए। यसका लागि आफुहरुसँग भएको ‘ख’ वर्गको एम्बुलेन्सलाई स्तरोन्नति गर्ने उनको बताए।
योसँगै राष्ट्रिय ट्रमा सेन्टरमा एम्बुलेन्सको संख्या तीन पुगेको छ। जसमध्ये एउटा ‘ग’ वर्गको एम्बुलेन्स छ।
एम्बुलेन्सको आवश्यक पर्ने २० प्रतिशत बिरामीहरुलाई पारामेडिक्स तथा स्वास्थ्यकर्मीको सहायता चाहिने डा पौडेलले बताए।
उनका अनुसार बाँकी ८० प्रतिशत बिरामीलाई अस्पताल पुग्नसम्म मात्र एम्बुलेन्सको आवश्यक पर्छ।
सरकारी अस्पतालहरुमा ‘क’ वर्गको एम्बुलेन्स सञ्चालन गर्न सके गम्भीर खालका बिरामीलाई धेरै सहज हुने अस्पतालको भनाई छ।