काठमाडौं - कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिले कोरोना खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा लगाउन सरकारलाई सुझाव दिएको छ।
सल्लाहकार समितिकाे बैठकले गत शुक्रबार खोपको दोस्रो मात्रा ८ देखि १२ हप्ताको अवधिमा दिन प्रस्ताव गर्ने निर्णय गरेको हो। उक्त प्रस्ताव निर्णयका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पेस गरिएको छ।
तर, स्वास्थ्य मन्त्रालयले भने यस विषयमा निर्णय गरिसकेकाे छैन। यसअघि मन्त्रालयले पहिलाे मात्रा लगाएकाे २८ दिनपछि दाेस्राे मात्रा लगाउने निर्णय गरेकाे छ।
विश्व स्वास्थ्य संगठनको खोप सम्बन्धी विज्ञहरुको समिति (सेज) को निर्णयको आधारमा उक्त प्रस्ताव गरेको हो। सेजले पहिलो खोप लगाएको ८ देखि १२ हप्ताको अवधि दोस्रो मात्रा लगाउँदा प्रभावकारी हुने निर्णय गरेको छ।
कोभिड-१९ खोप प्राविधिक सल्लाहकार समितिका संयोजक डा श्यामराज उप्रेतीले पनि खोपको दोस्रो मात्रा जति ढिला लगायाे उति नै शरीरमा एन्टिबडी प्रभावकारी हुने बताए।
उनले खोपको पहिलो मात्रा लगाउँदा शरीरमा देखिएका प्रतिअसरहरु (ज्वरो आउने, टाउको तथा शरीर दुख्ने लगायत) दोस्रो मात्रा लगाउँदा कम देखिने विभिन्न अध्ययनले देखाएको बताए।
उनले कोभिसिल्ड खोपले कोरोनाका कारण हुने मृत्युदर र जटिलतालाई घटाउने बताए। खोप लिइसकेका व्यक्ति आफू सुरक्षित भए पनि अरुलाई सार्ने सम्भावना भएकाले जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने उनले बताए।
उनले भने, ‘खोप लगाएपछि आफू सुरक्षित भइन्छ। तर उसले अरुलाई सार्ने सम्भावना पनि उत्तिकै हुन्छ। त्यसैले खोप लगाएपछि पनि मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने, हात धुने जस्ता जनस्वास्थ्यका मापदण्ड पालना गर्नुपर्छ।’