बच्चाको सर्वांगिण विकासमध्ये बोली र भाषाको विकास पनि एक हो। बोली र भाषाको विकास राम्रोसँग भएन भने उसको बौद्धिक विकासमा पनि ठूलो असर पर्छ।
बोली र भाषा सञ्चारको एउटा महत्वपूर्ण माध्यम हो। यदि बच्चाले सरल तरिकाबाट आफ्ना मनमा लागेका कुराहरु अरुलाई व्यक्त गर्न सकेन भने यसबाट धेरै नकरात्मक प्रभावहरु पर्छ।
यस्तो नकरात्मक प्रभावको कारणले गर्दा ऊ समाजमा सहज रुपमा घुलमिल हुन सक्दैन। अस्वभाविक रुपमा चकचके हुने र कुनै पनि कुरामा ध्यान एकत्रित गर्ने क्षमतामा ह्रास आउन सक्छ।
यदि कुनै बच्चाको बोली र भाषाको समयसापेक्ष विकास भएन भने के–कति कारणले बोली र भाषा विकास गर्न बाधा–अड्चन पुर्याएको छ जान्न जरुरी छ।
बच्चाको बोली र भाषा विकास हुने समयमा यदि ऊ हुर्केको वातावरणबाट सिक्ने अवसर गुमायो भने शारीरिक विकास भए तापनि उसले भाषको राम्रो विकास गर्न सक्दैन।
हामीलाई थाहा छ, कुराकानी सञ्चारको महत्वपूर्ण माध्यम हो। यदि बच्चामा बोली र भाषाको विकास समयमै भएन भने
उसले सञ्चारको अर्को माध्यम चयन गर्न बाध्य हुन्छ र विकल्पको रुपमा हाउभाउको प्रयोग गर्न थाल्छ। अतः बच्चाले सञ्चारको अर्को माध्यम चयन गर्नुअगावै उसको बोली र भाषाको विकास के–कस्तो स्थितिमा छ, सो पत्ता लगाई समयमै स्पिच ल्याङ्वेज थेरापी दिनुपर्छ। सो गर्न सकिएको खण्डमा उसलाई थोरै मात्रामा सिकाएमा अर्थात् प्रशिक्षण गरेमा पनि नतिजाको रुपमा धेरै विकास हुन्छ।
विकास क्रम
बच्चाको जन्मपछि नै उसले सञ्चार स्थापना गर्न थालेको हुन्छ। जन्मेको एक वर्षको अवधिसम्म उसले वातावरणमा भएको प्रक्रिया तथा विभिन्न आवाज र घुलमिलबाट बोली र भाषाको जग बसालेको हुन्छ। त्यसैगरी बच्चामा बोल्ने भाषाभन्दा अगाडि बुझ्ने भाषाको विकास हुन्छ। जस्तो कि, बोल्नुभन्दा उसले औंलाले देखाउने गर्छ।
बच्चाको जन्मपश्चात् नै उसले आफ्नो मानसपपटलमा सञ्चार स्थापना गर्न सुरु गरेको हुन्छ। अर्थात् उसले आफ्नो भावनालाई कुनै न कुनै रुपमा प्रकट गर्न थालेको हुन्छ। यस प्रक्रियालाई तल दिइएको तालिकाबाट चित्रण गर्न सकिन्छ।
उमेर अवधी विकासक्र
साभार : स्ट्यान्डफोर्ड चिल्ड्रेन्स हेल्थ
सचेतना
सामान्य बच्चाको बोली र भाषाको विकास उपर्युक्त तालिका बमोजिम हुने गर्छ। यो प्रक्रिया सामान्य हो तर कुनै बच्चामा यो प्रक्रिया अनुसार विकास नभएको हुनसक्छ। यस्तो अवस्थामा बच्चालाई सम्बन्धित विशेषज्ञबाट परामर्श लिई उचित थेरापी दिनु अति जरुरी छ।
यसो भए तापनि हाम्रो समाजमा रुढिवादी संकारले जरा गाडेको हुनाले थेरापी दिनतर्फ त्यति ध्यान दिँदैनौं। यसको बदला हाम्रो सोचाइ बच्चाले बोल्नमा अली विलम्ब भएको मात्र हो। केही ढिलो भए पनि बोलिहाल्छ भन्ने भ्रममा हुन्छौँ। यसको अलावा देवी–देवताको दोषबाट यस्तो भएको हो भनि पूजापाठतर्फ लाग्छौं।
यस अतिरिक्त हामी वंशाणुगत कारणले हो अथवा बच्चाका मातापिता, हजुरबुबा–हजुरआमा पनि विगतमा ढिलो बोल्न सुरु गरेको हुनाले यस बच्चाले पनि ढिलो नै बोल्ने छ भन्ने भ्रममा पर्छौँ। फलतः एक निश्चित समयमा बच्चालाई दिनुपर्ने थेरापी नदिएमा पछि राम्रो नतिजा पाउन कठिन हुन जान्छ।
अतः प्रत्येक आमाबुबाले आफ्नो बच्चाको बोली विकास समय अनुसार भएको छ÷छैन ख्याल गर्नुपर्छ। बोलीको निश्चित समयमा निश्चित रुपमा विकास भएको छैन भने स्पिच थेरापी दिनु अति जरुरी छ।
(श्रेष्ठ महाराजगञ्ज चिकित्सा क्याम्पसका अडियोलोजिस्ट एन्ड स्पिच ल्याङ्वेज प्याथोलोजिस्ट हुन्।)