काठमाडौं - सरकारले खरिद गरेको १० लाख डोज कोभिसिल्ड खोप आज काठमाडौं आउदै छ। एयर इन्डियाको विमान मार्फत दिल्लीबाट १:३० बजे काठमाडौं आइपुग्ने स्वास्थ्य मन्त्रालय जानकारी दिएको छ।
नेपाल सरकारले सेरम इन्स्टिच्यूट अफ इन्डियामा फागुन ५ गते २० लाख डोज खरिदका लागि सम्झौता गरेको थियो। सरकारले प्रति एक डोज ४ डलरमा २० लाख डोज खोप खरिद गरेको हो। जसमध्ये पहिलो चरणमा १० लाख डोज आज आउन लागेको हो।
सरकारले उक्त खोप खरिदका लागि अग्रिम भुक्तानी गरेको थियो। नेपालको खरिद ऐनले अग्रिम भुक्तानी गर्न नमिल्ने भएपछि मन्त्रिपरिषद्ले अग्रिम भुत्तानीका लागि निर्णय गरेको थियो।
सरकारले फागुन २३ गतेदेखि संचालन गर्ने दोस्रो चरणको खोप अभियानका लागि उक्त खोप खरिद गरेको हो।
दोस्रो चरणमा ५५ वर्ष माथिका नागरिक र जोखिम समुहलाई खोप लगाइने बताइएको छ।
उक्त खोप टेकुस्थित कोल्डरुममा भण्डारण गरी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र माफर्त जिल्लास्थित स्वास्थ्य कार्यालयबाट देशभरका खोप केन्द्रमा वितरण हुने छ। स्वास्थ्य मन्त्रालयले बाँकी १० लाख खोप पनि चाँडै नेपाल आइपुग्ने जनाएको छ।
नेपालमा माघ १४ गतेदेखि कोरोना विरुद्धको खोप अभियान सुरु भएको थियो। पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी,सफाईकर्मी, एम्बुलेन्स, शबबाहन चालक, पत्रकार, स्थानीय जनप्रतिनिधि, सरकारी कार्यालयका कर्मचारी, नेपालस्थित कुटनितिक नियोगका कर्मचारी, युनएन एजेन्सीका कर्मचारीलाई खोप दिइएको छ। हालसम्म ३ लाख बढीले खोप लगाइसकेका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेशश त्रिपाठीले सरकारले आगागी मार्चसम्म सबै लक्षित समुहलाई खोप लगाइसक्ने सन् २०२१ को जुनसम्म खोप दिइसक्ने लक्ष्य रहेको बताएका छन्।
सरकारले कूल जनसंख्याको ७० प्रतिशतलाई कोरोना विरुद्धको खोप लगाउने लक्ष्य लिएको छ।