काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तथ्यांकमा छुटाएको कोरोना संक्रमितको मृत्युको विवरण बल्ल समावेश गरेको छ।
मन्त्रालयले बुधबारको कोरोना अपडेटमा गत २४ घण्टामा प्राप्त भएको मृत्यु संख्यामा ६१९ जना रहेको उल्लेख गरेको छ।
यस्तै गत २४ घण्टामा मृत्यु भएका कोरोना संक्रमितको संख्या भने एक जना मात्र रहेको जनाएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमका अनुसार गत २४ घण्टामा प्राप्त भएको ६१८ जना स्वास्थ्य मन्त्रालयले यसअघि नै अध्यावधिक गर्न छुटाएको तथ्यांक हो।
जुन तथ्यांक नेपाली सेनाले शव व्यवस्थापनको क्रममा संकलन गरेको हो। स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको तथ्यांक फरकफरक आएपछि सिसिएमसीको बैठकले थप अनुसन्धान गरेर स्वास्थ्य मन्त्रालयले छुटाएको ६१८ जनाको विवरण मृतकको संख्यामा बुधबार थप गरिएको हो।
‘यो तथ्यांक घरमै मृत्यु भएर नेपाली सेनाले शव व्यवस्थापन गर्दा संकलन गरेको तथ्यांक हो,’ डा गौतमले भने, ‘नेपाली सेना र हाम्रो तथ्यांक नमिलेपछि अहिले मिलाइएको हो।’