काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिहरुको संख्या सच्याएको छ।कोभिड-१९ महामारीको व्यवस्थापन गरिरहेका निकायहरुको तथ्यांकको आधारमा मृतकको संख्या थप गरिएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले थप ८३ जना कोरोना संक्रमितको मृत्यु भएको संख्या जोड्दै नेपालमा हालसम्म मृत्यु भएका व्यक्तिको संख्या २ हजार ७६७ उल्लेख गरेको छ।
मन्त्रालयले बुधबार ६ सय १९ जना मृतकको संख्या थप भएको जनाएको थियो। स्वास्थ्य मन्त्रालयका अनुसार गत २४ घण्टामा १ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
कोरोना संक्रमित मृतकको संख्याको विषयमा विश्लेषण गरिरहेकाले मृतकको संख्या अझै बढ्न सक्ने मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालय र नेपाली सेनाको कोरोना मृतकको संख्या फरक फरक बताएपछि विवाद भएको थियो। मन्त्रालयले सहसचिव शैलजा रेग्मीको विवाद सुल्झाउन र कोरोनाबाट मृत्यु भएका व्यक्तिको सख्ंयाबारे छानविन गरी प्रतिवेदन बुझाउन समिति गठन गरेको थियो।
उक्त समितिले स्वास्थ्य मन्त्रालयमा मृतकको पूर्ण विवरण नआएकोले संख्या कम देखिएको भन्दै मृतकको संख्या सच्याउनुपर्ने सुझाव दिएको थियो।
उक्त सुझावका आधारमा इपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखाले कोभिडबाट मृत्यु भएका व्यक्तिको परिभाषा परिमार्जन गर्दै कोरोनाको लक्षण देखिएका तर जाँच नभएका, लकडाउनका समयमा घरमा मृत्यु भएका व्यक्तिहरुलाई पनि कोभिड मृत्यु मान्ने प्रस्ताव मन्त्रालयमा पेस गरेको थियो।
मन्त्रालयले उक्त प्रस्तावलाई स्विकृती दिएपछि बुधबारदेखि मृतकको संख्या सच्याउदै गएको छ।