काठमाडौं– नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेको नर्भिक अस्पतालले जनाएको छ। नर्भिक अस्पतालले पत्रकार सम्मेलन गर्दै नेता जोशीको स्वास्थ्य अवस्था गम्भीर रहेकाले भेन्टिलेटरमा राखिएको जानकारी दिएको छ।
पूर्वमन्त्री समेत रहेका जोशीलाई बिहीबार राति मस्तिष्कघात भएको हो। शरीरको देब्रेपट्टी समया देखिएपछि उनलाई राति नै महाबौद्धस्थित् वीर अस्पताल लगिएको थियो। वीर अस्पतालमा लगिदै गर्दा उनी बोल्न सक्ने अवस्थामै थिए।
वीर अस्पतालमा सिटी स्क्यान गर्दा मस्तिष्कमा रगत जमेको पाइएको न्युरो सर्जन डाक्टर राजीव झाले बताए।
मस्तिष्कमा रगत जमेको पाइएपछि नेता जोशीलाई वीरबाट राति २ बजेर ४० मिनेटमा थापाथलीस्थित् नर्भिक अस्पताल लगिएको थियो।
नर्भिक अस्पतालमा आइपुग्दा नेता जोशी कोमामा पुगेको पाइएको डा झाले बताए।
‘राती साढे ३ बजे नर्भिकमा आइपुग्दा उहाँ कोमामा हुनुहुन्थ्यो,’ डा झाले भने, ‘श्वास फर्ने गाह्रो भइरहेको थियो, वान्ता भएर वान्ता उहाँको फोक्सोमा पुगेको अवस्था थियो।’
डा झाका अनुसार नेता जोशीलाई नर्भिक अस्पतालमा श्वास फेर्न सहज होस् भनेर आकस्मिक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। घाँटीबाट वान्ता भएको वस्तु निकालिएको डा झाले बताए।
नर्भिक अस्पतालमा आइपुग्दा नै नेता जोशीको आँखाको दुवै नानी फुलिएको पाइएको पनि उनले बताए। उनले नर्भिक अस्पतालमा पनि फेरी सिटिस्क्यान गरिएको र सो रिपोर्टमा टाउकोमा पानी जमेको पाइएको पनि बताए।
डा झाका अनुसार उनको अन्य समस्याहरुको पनि सम्पूर्ण जाँच गरिएको बताए।
नेता जोशीले सुगर, प्रेसरको समस्या भएको र रगत पातलो हुने औषधि सेवन गरिरहेकाले शल्यक्रिया गर्दा रगतश्राब कन्ट्रोल नहुने भएकाले विशेष व्यवस्था गरेर सर्जरी गरिएको डा झाले बताए।
उनका अनुसार टाउकोमा जमेको पानी निकाल्न एक्स्टर्नल भेन्ट्रिकुलर ड्रेन (इभिडी) राखिएको र १३० एमएल पानी निस्किसकेको पनि बताए। उनको स्वास्थ्य अवस्था हाल स्थीर रहेको र रक्तचाप कम भएकाले रक्तचाप बढ्ने औषधि दिइएको डा झाले बताए।
‘हामीले भेन्टिलेटरमा नचल्नुहोस्, नखोक्नुहोस् भनेर राखेका छौं, यदी खोक्नुभयो, चल्नुभयो भने रक्तश्राव हुनसक्छ, यो अवस्था एकदमै जटिल अवस्था हो, यस्तो अवस्थामा १०० मा ६० प्रतिशतको मृत्यु नै हुन्छ,’ डा झाले भने, ‘बचाउने सक्ने सम्भावना ३० प्रतिशत हुन्छ।’
डा झाका अनुसार रक्तचापको समस्या लगायत रोगहरु हुँदा समयमा औषधि सेवन नगर्ने बानीले यस्तो समस्याहरु देखिएने बताए।